२३ युवकद्वारा १ युवती बलात्कार प्रकरण: वाराणसीका डीसीपी हटाइए

 संवाददाता    २०८२, २ बैशाख मंगलवार १३:००     135 जनाले पढ़िसके



Spread the love

भारतको उत्तर प्रदेश सरकारले सामूहिक बलात्कार घटनामा वाराणसीका डीसीपी वरुणा जोन चन्द्रकान्त मिणालाई हटाएको छ।

वाराणसीमा २३ जनाले एक युवतीलाई बलात्कार गरेको प्रकरणमा योगी सरकारले उनलाई डीजीपी मुख्यालयमा तानेको हो।

केही दिनअघि वाराणसी भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनामा संलग्नहरूलाई कडा कारबाही गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार सामूहिक बलात्कारको उक्त घटना लालपुर-पाण्डेयपुर प्रहरी चौकी क्षेत्रमा भएको हो।

२३ जना युवाले १९ वर्षीय युवतीलाई विभिन्न ठाउँमा लगेर सात दिनसम्म बलात्कार गरेको बताइएको छ। प्रहरीका अनुसार पीडित युवती कुनै तरिकाले उनीहरूको पञ्जाबाट फुत्केर घर पुग्न सफल भइन्।

त्यसपछि उनले परिवारसँगै गएर उनले अप्रिल ६ मा लालपुर पाण्डेपुर प्रहरी चौकीमा नाम उल्लेख गरेर १२ र अपरिचित ११ जनाविरुद्ध जाहेरी दिइन्। पीडितको जाहेरीपछि प्रहरीले शंकास्पद होटल र हुक्का बारमा छापा मारेको थियो।

यस क्रममा १३ जना पक्राउ गरिएको र १० जना अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस विषयमा योगी सरकार वाराणसी प्रहरी आयुक्तालयको कामकारबाहीबाट असन्तुष्ट रहेको बताइएको छ। त्यसैले डीसीपी वरुणा जोन चन्द्रकान्त मिणालाई डीजीपी मुख्यालय लखनउ तानिएको नवभारत टाइम्सले जनाएको छ।