आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष सडकमै मनाउने भएका छन् । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसपालिका नयाँ वर्ष सडकमा नै मनाउन लागेको बताउनुभयो ।
नयाँ वर्षको शुरूको आजको दिन पनि विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलन गर्न लागेको उहाँको भनाइ छ ।
शिक्षकहरूले यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित १३ दिनदेखि काठमाण्डौमा आन्दोलन गरिरहेका छन् ।
यसैबीच नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलन थप सशक्त बनाउनका लागि सहभागिता जनाउन सबै जिल्लाका विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।
परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले संयुक्त रूपमा विज्ञप्ति निकालेर ७७ वटै जिल्लाका अध्यक्ष तथा सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई ‘मेरो आन्दोलन, मेरो सहभागिता’ भन्ने भावनासहित अनिवार्य रूपमा आन्दोलनमा उपस्थित हुन आह्वान गरिएको छ ।