गोरखा । विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौँ अनुदान उपलब्ध गराएपनि शैक्षिक गुणस्तर खस्कँदो छ ।
गोरखा नगरपालिकास्थित महेन्द्र माविका प्राचार्य गोपालबाबु मरहट्टाले भने, ‘यो वर्ष १० लाख परेको छ, कार्यक्रम आएको सुरुको वर्ष ५० लाख आएको थियो ।’ प्राप्त बजेट शैक्षिक गुणस्तर निर्माणका लागि खर्च गरेको उनले बताए ।
नमूना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त वार्षिक एक करोड भौतिक पूर्वाधारमा र बाँकी ५० लाख व्यवस्थापनमा खर्च गरेको उनले जानकारी दिए । विद्यालयको गतवर्षको एसइई नतिजा औसत ७५ दशमलव ८६ प्रतिशत छ ।
तीन सय १५ जना विद्यार्थी पढ्ने बारपाक सुलिकोटको सूर्यज्योति मावि ताकुकोटले कार्यक्रमअन्तर्गत सुरुको पाँच वर्ष डेढ–डेढ करोड र गतवर्ष ३० लाख प्राप्त गरेको छ । अनुदानवापत प्राप्त चार करोड विद्यालय भवन निर्माणमा खर्च गरेको विद्यालयले जनाएको छ । ९७ लाख बराबरको चमेना गृह, २१ लाख लागतमा विद्यालयको मञ्च र करिब १० लाखमा आइसिटी ल्याब निर्माण गरेको प्रअ प्राचार्य बाबुराम नेपालीले बताए ।
बजेट करोडौँ खर्च गरेपनि एसइईको नतिजा खासै राम्रो देखिएको छैन । सुरुको वर्ष २०७५ मा विद्यालयले २ दशमलव २५ जिपिए प्राप्त गरेको थियो । २०७६ मा २ दशमलव ८४, २०७७ मा ३ दशमलव१४, २०७८ मा २ दशमलव २० र २०७९ मा २ दशमलव ६५ जिपिए प्राप्त गर्यो भने गत वर्ष जम्मा ० दशमलव ५६ जिपिए प्राप्त गरेको छ ।
३६५ जना विद्यार्थी पढ्ने अर्को नमुना विद्यालय सिरानचोक–८ जौवारीस्थित परोपकार आदर्श माविको गत वर्षको एसईई नतिजा ६४ दशमलव २८ प्रतिशत छ । यस्तै, विद्यालयले २०७९ मा २ दशमलव ५५, २०७८ मा २ दशमलव ५३, २०७७ मा २ दशमलव ८५, २०७६ मा २ दशमलव ८५ र २०७५ मा २ दशमलव ८७ जिपिए ल्याएको थियो ।
जिल्लामा सबैभन्दापछि नमूना विद्यालय घोषणा भएको पालुङटार नगरपालिकास्थित अमरज्योति जनता माविमा गतवर्ष एसइई परीक्षामा नौ जना अनुत्तिर्ण भएको विद्यालयले जनाएको छ । त्यसअघिका वर्षहरुमा ग्रेडिङ प्रणाली लागू भएकाले केही विद्यार्थी फेल नभएको विद्यालयका प्रअ माधव देवकोटाले बताए । छ सय ३० जना विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयमा हाल नमूना विद्यालय कार्यक्रमको चौथो वर्ष सञ्चालन भइरहेको छ ।