राष्ट्र बैँकको नयाँ गभर्नरका लागि चर्चामा विभिन्न क्षेत्रका अनुहार

 संवाददाता    २०८१, २० फाल्गुन मंगलवार १८:५६     295 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिने दिन नजिकिंदै नयाँ गभर्नर बन्न दौडधूप सुरु भएको छ।

गभर्नर अधिकारीको कार्यकाल आगामी चैत्र अन्तिम सातासम्म भएपनि । त्यसको एक महिना अघिदेखि अनिवार्य विदामा बस्ने चलन रहेकाले राष्ट्र बैँकको नयाँ नेतृत्व नियुक्तिका लागि सरकारले प्रक्रिया चाँडै सुरु गर्नुपर्नेछ । त्यसैले राष्ट्र बैँकको १८ औँ गभर्नर को विषयले बजार तात्न थालेको छ ।

अर्थमन्त्रीको संयोजकत्वमा गठन हुने तीन सदस्यीय सिफारिस समितिले ३ जनालाई राष्ट्र बैँकको गभर्नरका लागि नाम सिफारिस गर्नेछ । जसमध्ये एकजना डेपुटी गभर्नर सिफारिसमा पर्नेछन भने बाँकी २ जना बाह्य क्षेत्रबाट सिफारिसमा पर्नेछन् । यिनै सिफारिस गरिएका मध्येबाट नै अबको पांँचवर्षका लागि गभर्नरको छनोट हुनेछ ।

मुख्यतः अहिले पाँच जना चर्चामा रहेका छन्, डा. निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, ज्ञानेन्द्र ढुंगाना, रमेश घिमिरे र रामेश्वर खनाल । जसमध्ये तिम्सिना र मिश्र राष्ट्र बैँकका डेपुटी गभर्नर हुन् । यस्तै ढुंगाना नबिल बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् भने घिमिरे निक्षेप तथा कर्जा सुरक्षण कोषका सीईओ हुन् । नेपाल सरकारका पूर्व अर्थ सचिव रहेका खनाल पनि यस प्रतिस्पर्धामा देखिन्छन् ।

त्यस्तै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, तत्कालीन डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार तथा कामु उपकुलपति प्रा.डा. अच्युत वाग्ले, राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र डा. गुणाकर भट्ट गभर्नरको अग्र रेसमा छन् ।

भट्ट र श्रेष्ठ दुवै राष्ट्र बैंकको सेवाबाट चाँडै अवकास हुँदैछन् । त्यसैगरी गभरर्नरको रेसमा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्दशक देवकुमार ढकाल, पूर्वबैंकर किरणकुमार श्रेष्ठ, पूर्वबैंकर राजनसिंह भण्डारी र लगानी बोर्डका पूर्वप्रमख कार्यकारी अधिकृत सुशील भट्ट पनि चर्चामा छन् ।

कस्ता छन् त चर्चामा रहेका अनुहारहरु हेरौं।

रमेश घिमिरे

गभर्नरका लागि चर्चामा रहेका व्यक्ति हुन्, रमेश घिमिरे । हाल निक्षेप तथा तथा कर्जा सुरक्षण कोषको सीईओका रुपमा कार्यरत उनले विभिन्न सरकारी निकाय र निजी संस्था रहेर लामो वित्तीय र व्यवस्थापकीय अनुभव हासिल गरेका छन् । उनले यसअघि एनसेलको निर्देशक तथा कानुनी प्रमुख, एसबीआई क्यापिटलको सीईओका रुपमा काम गरेका थिए ।

घिमिरेलाई कुशल प्रशासक, बैँक तथा वितीय संस्थासंगै मुलुकको अर्थतन्त्रको विज्ञका रुपमा लिइन्छ । अब्बल, क्षमतावान तथा निखारिएको व्यक्तित्व बोकेका घिमिरे राष्ट्र बैँकको गभर्नरका लागि दाबेदार रहेका छन।

रामेश्वर खनाल

नेपाल सरकारका अर्थसचिव खनालको नाम राष्ट्र बैँकको गभर्नरका लागि पनि सुन्ने गरिएको छ । अर्थतन्त्रका विज्ञ मानिने खनालले अरुनै मुख्यसचिव भएपछी अर्थ सचिव बाटराजीनामा दिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अर्थ सल्लाहकारका रुपमा समेत काम गरिसकेका छन् ।

गत असोजमा सरकारले खनाललाई अर्थतन्त्र सुधारका लागि राय पेस गर्न ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’को अध्यक्ष बनाएको थियो । त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका छन् ।

सिफारिस समितिबाट गभर्नरको लागि ३ जनाको नाम सिफारिस हुने भएकाले कसलाई राष्ट्र बैँकको नेतृत्व कसले पाउँछ भन्ने कुरा प्रधानमन्त्री र मन्त्रिपरिषद्को निर्णयमा निर्भर हुन्छ । यद्दपि राष्ट्र बैँकको प्रभावकारिता अभिवृद्धि गर्दै देशको समग्र अर्थतन्त्रलाई सुधार गर्न कार्यकुशलता, विज्ञता, नेतृत्व क्षमता र अनुभव हेरेर गभर्नरको नियुक्ति हुनेछ ।

डा. निलम ढुंगाना तिम्सिना

राष्ट्र बैँकको पहिलो महिला डेपुटी गभर्नर बनेर इतिहास रचेकी तिम्सिना गभर्नरका लागि स्वभाविक दाबेदार हुन् । २०७७ फागुन २५ गते डेपुटी गभर्नर बनेकी तिम्सिनाले गभर्नर महाप्रसाद अधिकारीको मातहतमा रहेर राष्ट्र बैंकलाई अघि बढाइरहेकी छन् । व्यवस्थापन तथा वित्त क्षेत्रमा अब्बल मानिने उनले २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंक सेवा सुरु गरेकी थिइन् ।

वि.सं २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी तिम्सिनाले राष्ट्र बैँकमा लामो अनुभव हासिल गरेकी छन् । उनले व्यवस्थापनमा विद्यावारिधी समेत गरेकी छन् । तिम्सिनाका सामू राष्ट्र बैँकको पहिलो महिला गभर्नर बनेर इतिहास लेख्ने अवसर छ ।

बमबहादुर मिश्र

राष्ट्र बैँकको डेपुटी गभर्नर रहेका मिश्र १८औँ गभर्नरका लागि अर्को प्रतिस्पर्धी हुन् । तिम्सिनासँगै डेपुटी गभर्नर बनेका मिश्र व्यवस्थापन र अर्थतन्त्रमा दख्खल राख्छन् । २०५९ साल साउन २७ गते राष्ट्र बैँक सेवामा प्रवेश गरेका उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर र कानुनमा एलएलबीसम्मको अध्ययन गरेका छन् ।

डेपुटी गभर्नर बन्नुअघि उनले राष्ट्र बैँकमा विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशकका रुपमा काम गरेका थिए । उनीसँग निजी बैँकमा काम गरेको अनुभव समेत रहेको छ ।

ज्ञानेन्द्र ढुंगाना

राष्ट्र बैँकको १८औँ गभर्नरका लागि ज्ञानेन्द्र ढुंगानाको नाम व्यापक चर्चामा रहेको छ । नबिल बैँकको सीईओको रुपमा दोस्रो कार्यकाल काम गरिरहेका ढुंगाना नेपालको वित्तीय क्षेत्रमा सफलताका प्रयाय मानिन्छन् ।

उनले सीईओकै रुपमा नेपाल बंगलादेश बैंकलाई नेतृत्व गरेका थिए । उनको कार्यकुशलताका कारण नेपाल बंगलादेश बैंक नबिल बैँकमा मर्जर भएको थियो । मर्जपछि नबिललाई नयाँ उचाईंमा पुर्याउन ढुंगानाले उत्कृष्ट कार्यकुशलता देखाइरहेका छन् ।

नेपाल राष्ट्र बैंकको निर्देशकको अनुभव समेत संगालिसकेका उनीसँग तीन दशकभन्दा बढी बैकिङ क्षेत्रको अनुभव छ । भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको ज्ञान, व्यवस्थापकीय कौशल, उत्कृष्ट कार्यसम्पादन र सक्षम नेतृत्व क्षमता बोकेका ढुंगाना राष्ट्र बैँकको गभर्नरको दौडमा बलिया प्रतिस्पर्धीका रुपमा उभिएका छन् ।