विगत दुई वर्षयता सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा ‘इन्सुलिन प्रतिरोध’बारे निकै चर्चा भए। त्यसबारे किताब प्रकाशित भए अनि खासखास शारीरिक कसरत तथा खानपिनबारे भिडिओ शेअर भए।
यो विषयले निकै ध्यान खिचिरहेको छ किनभने इन्सुलिन प्रतिरोधको शारीरिक अवस्थाले टाइप टू डायबीटीजजस्तो गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
इन्सुलिन प्रतिरोध भनेको के हो र यसका लक्षण के हुन्? के यसको उपचार हुन्छ? र, के व्रत बस्दा यसलाई नियन्त्रण गर्न सघाउ पुग्छ?
प्याङ्क्रियाजले उत्पादन गर्ने इन्सुलिन मानव शरीरले उत्पादन गर्ने एउटा महत्त्वपूर्ण हर्मोन हो।
यसको मुख्य कार्य रगतमा रहेको चिनी (ग्लूकोज)को मात्रा नियमन गर्नु हो ताकि शरीरले त्यसको भण्डारण तथा ऊर्जाका लागि उपयोग गर्न सकोस्।
प्याङ्क्रियाजले कम इन्सुलिन उत्पादन गरेमा वा शरीरले त्यसको उचित उपयोग गर्न नसकेमा कैयन् स्वास्थ्य समस्या हुन सक्छ।
तस्बिर स्रोत,Getty Images
इन्सुलिन प्रतिरोध भनेको मांशपेसी, बोसो र कलेजोका कोषहरूले इन्सुलिनप्रति देखाउनुपर्ने स्वाभाविक व्यवहार नदेखाएपछि उत्पन्न हुने जटिल प्रक्रिया हो।
यो अवस्थामा ती कोषहरूले रगतबाट प्रभावकारी रूपमा ग्लुकोज सोस्न तथा भण्डार गर्न सक्दैनन्।
त्यसो हुँदा रगतमा चिनीको मात्रामा उच्च बनिरहन्छ र प्याङ्क्रियाजले झन् धेरै इन्सुलिन उत्पादन गर्छ, यो अवस्थालाई हाइपरइन्सुलिनेमिया भनिन्छ।
कोषहरूले देखाउने कमजोर प्रतिक्रियालाई जित्ने गरि प्याङ्क्रियाजले पर्याप्त इन्सुलिन बनाउन्जेल रगतमा चिनीको मात्रा स्वस्थ्य स्तरमै रहन्छ।
तर यदि कोषको प्रतिरोध बढ्यो भने रगतमा चिनीको मात्रा उच्च तहमा पुगिरहन्छ र त्यस्तो अवस्था लम्बियो भने टाइप टू डायबीटीजज तथा अन्य रोग निम्तिन्छ।
इन्डोक्राइनोलजी, डायबीटीज तथा इन्टर्नल मेडिसनसम्बन्धी विज्ञ तथा यूकेको न्याश्नल हेल्थ सर्भिसका कन्सल्ट्यान्ट फिजिसियन फ्र्याङ्कलिन जोसेफका अनुसार इन्सुलिन प्रतिरोध भनेको ‘आनुवंशिक, जीवनशैली तथा वातावरणीय तत्त्वको मिश्रणले हुने एक जटिल प्रक्रिया’ हो।
यसको कारक हरेक व्यक्तिमा फरकफरक हुने गर्छ।
तस्बिर स्रोत,Franklin Joseph
यो अवस्था विकास हुनुका विभिन्न कारणबारे उनले भने :
मोटोपना : ज्यादा बोसो, खास गरी पेटवरपरको बोसो
शारीरिक निष्क्रियता : नियमित शारीरिक गतिविधिको कमी
अनुवंश : केही मानिसहरूमा आनुवंशिक रूपमै इन्सुलिन प्रतिरोधक अवस्था देखा पर्छ
कमसल खानपिन : प्रशोधित खानेकुरा, प्रशोधित कार्बोहाइड्रेट्स तथा चिनीको धेरै मात्रा भएको खानपिनले रगतमा द्रुत गतिमा चिनी बढाइदिन्छ जसले समयक्रममा इन्सुलिन उत्पादन वृद्धि हुने गर्छ
दीर्घ तनाव : कोर्टिसोलजस्ता तनावसँग सम्बन्धित होर्मोनले रगतमा चिनीको मात्रा नियमित गर्ने इन्सुलिनको क्षमतामा हस्तक्षेप गर्छ
निद्रामा गडबडी : अनिद्रा वा अल्पनिद्राले इन्सुलीनको संवेदनशीलतामा प्रभाव पार्छ
खास स्वास्थ्य अवस्था : पोलिसिस्टिक ओभरी सिन्ड्रोम, कुशिङ्ग्स सिन्ड्रोम अनि फ्याटी लिभर जस्ता अवस्था
उमेर : मानिसको उमेर बढ्दै गएपछि तिनका कोष इन्सुलिनप्रति कम प्रतिक्रियात्मक हुन थाल्छन्