जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन

 संवाददाता    २०८१, १६ फाल्गुन शुक्रबार १६:१८     87 जनाले पढ़िसके



Spread the love

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा रु २४ करोड ७३ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयको ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको छ । चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत रविन्सलाल दासले जानकारी दिए । उनका अनुसार चालू आवको साउन महिनामा ७७.७८ प्रतिशत, भदौमा ५६, असोजमा ७७.४५, कात्तिकमा ६८.७१, मङ्सिरमा ७६.६०, पुसमा ८६.३१, माघमा ७९.६५ तथा फागुन १५ गतेसम्ममा २५.७९ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

उक्त भन्सारअन्तर्गत जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयर सामग्री, टायल्स, ग्रेनाइट, कोइला, कृषिउपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी एवं फलफूल, खेलकुद सामग्री, स्टेशनरी, विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत सामग्री आयात भएको भन्सार अधिकृत दासले बताए ।

उक्त भन्सार कार्यालयअन्तर्गत इनरुवा, मैनाथपुर तथा भडडीया छोटी भन्सार कार्यालयसमेत रहका छन् । ती कार्यालयलाई रु पाँच हजारसम्मको भन्सार राजस्व लिने अधिकार रहेको छ । राजस्व सङ्कलन लक्ष्यको तुलनामा कमी हुनुका मुख्य कारण चोरी तस्करी नियन्त्रण नहुनु, आर्थिक मन्दीलगायत रहेको छ । रासस