काठमाडौं जिल्लाको उत्तर पूर्वी भेगमा पर्ने कागेश्वरी मनोहरा नगरपालिकाले आज “११औँ कागेश्वरी मनोहरा पर्यटन महोत्सव” गर्दै छ ।
नगरपालिकाको वडा नम्बर १, गागलफेदीमा रहेको प्रसिद्ध कागेश्वरी धाम परिसरमा आयोजना हुने महोत्सवमा देशका एक दर्जन बढी ख्यातिप्राप्त राष्ट्रिय कलाकारले एउटै मञ्चमा प्रस्तुति दिँदै छन् ।
नेपाली लोकदोहोरी क्षेत्रमा “लोक सम्राट्” भनिने ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियार, नवराज घोरासैनी, चर्चित गायिका अस्मिता अधिकारी, शिशिर योगी, हास्य कलाकारिता क्षेत्रका ख्यातिप्राप्त हास्य कलाकार मनोज गजुरेल, रामचन्द्र अधिकारी, सीपी पुडासैनी ‘धतुरे बा’,सूर्यमणि आचार्य, गायिका सुमन ली, सुदन खड्का, राजेन्द्र श्रेष्ठ, पुष्कर सुनुवार, कमला थापा, मणिराज काफ्ले लगायत १ दर्जन बढी कलाकारले एउटै मञ्चबाट प्रस्तुति दिँदै छन् ।
कागेश्वरी मनोहरा नगरपालिका डाछीको आयोजनमा कागेश्वरी धाम मनोहरा वाड नं १ मा आयोजना हुने महोत्सवमा स्थानीय कलाकारहरूको पनि प्रस्तुति राखिएको छ ।
स्थानीय व्यक्तिलाई साङ्गीतिक मनोरञ्जन दिलाउँदै नगरपालिका भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास गर्ने उद्देश्य महोत्सवको रहेको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले बताए । प्रत्येक वर्षको फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर नगरपालिकाले यस्तो महोत्सव आयोजना गर्दै आएको उनले बताए ।
कागेश्वरी धाम वडा नं १ कागेश्वरी मनोहरा नगरपालिकाको पर्यटकीय वडाको रूपमा पनि परिचित छ । वडाको विकासमा पर्यटनको हिसाबले पनि महत्त्वपूर्ण हुने वडा नं १ का वडा अध्यक्ष मुकुन्द गजुरेल बताउँछन् । उनले महोत्सवमा साङ्गीतिक मनोरञ्जनको अलावा विभिन्न स्थानीय खानाको स्टल समेत रहने जानकारी दिए ।