नेपाली बजारमा एक महिनाको अन्तरालमा पाँचवटा नयाँ विद्युतीय गाडी सार्वजनिक हुने भएका छन्।
अटो कारोबारीहरुले ‘मिड रेन्ज’का ५ नयाँ ईभी मोडल एकैपटक सार्वजनिक गर्न लागेका हुन्।
अधिकांश मोडल ५० देखि ६० लाख रुपैयाँको बीचमा नेपाली बजारमा ल्याउने उनीहरुको तयारी छ। फेब्रुअरी अन्तिम हप्तादेखि मार्च महिनाभित्रै ५ मोडल सार्वजनिक हुने तय भएको छ।
अन्तर्राष्ट्रिय बजारमा १०० किलोवाटभन्दा बढी मोटर पावर भएका गाडी नेपाल ९९ किलोवाटमै सार्वजनिक हुँदै छन्। सरकारले १०० किलोवाट माथिका गाडीमा बढी कर लगाउँछ। सोही कारण उनीहरुले नेपाली बजारमा ल्याउनलागेका गाडीको मोटर पावर नै घटाएका छन्।
नेपालमा सार्वजनिक हुनलागेकामा टाटा, हुन्डाई, एमजी, डिप्पल र प्रोटोनका प्यासेन्जर मोडल छन्। विश्वबजारमा एक आपसमा प्रतिस्पर्धीको रुपमा हेरिएका गाडी नेपालमा एकै पटक भिड्नलागेका हुन्।
विद्युतीय गाडीहरुको खपतमा प्रतिशतका हिसाबले नेपाल विश्वमै अगाडि छ। पछिल्ला वर्ष नेपाली बजारमा विद्युतीय गाडीकै प्रतिस्पर्धा चलिरहेको छ।
अटो व्यवसायीहरुले धेरै मोडल एकै पटक बजारमा ल्याउँदा समग्र अटोमोबाइल क्षेत्र नै भाइब्रेन्ट हुने बताएका छन्। एउटै समयमा गाडी सार्वजनिक गर्नुलाई व्यावसायिक घरानाबीचको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ। यसले अस्वस्थ प्रतिस्पर्धा बढ्ने चिन्ता समेत छ।
‘धेरै ब्रान्ड एकैपटक सार्वजनिक हुँदा समग्र अटोमोबाइल क्षेत्र भाइब्रेन्ट बनाउन सहयोग पुग्छ’, नाडा उपाध्यक्ष तथा ईभी समिति सभापति राजनबाबु श्रेष्ठले भने, ‘नेपालमा स्थापित कम्पनीहरुले नै नयाँ मोडलहरु ल्याइरहेकाले अस्वस्थ प्रतिस्पर्धाको सम्भावना कम हुने विश्वास छ।’
अटो व्यवसायीहरुले अधिकांश गाडी नाडा अटो शोमा ल्याउने गरेका थिए। मास प्रोडक्टकै रुपमा हेरिएका गाडीहरु एकै पटक भिड्दा अटो क्षेत्रमा यसको चासो बढ्दै गएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलिया प्रतिस्पर्धाभन्दा पनि संयोगवश एकै समय परेको हुनसक्ने बताउँछन्।
‘हामीले पहिलेदेखि नै फेब्रुअरी अन्तिम वा मार्चमा सार्वजनिक गर्ने भनेकै थियौँ’, उनले भने, ‘अरु कम्पनीले पनि यही समयमै सार्वजनिक गर्ने तयारी गर्नुभएको छ। उपभोक्ताले ब्रान्ड र बिक्रीपछिको भ्यालु हेरेर गाडी खरिद गर्नुहुन्छ।’
उनले आर्थिक गतिविधि खासै चलायमान नभएको अवस्थामा अटो बजारमा नयाँ उपभोक्ता बढ्नेभन्दा पनि गाडी एक्सचेन्ज गर्ने धेरै हुनसक्ने बताए।
‘बजारमा जतिवटा गाडी सार्वजनिक भए पनि नयाँ ग्राहक प्रवेश गर्ने सम्भावना धेरै देख्दिनँ’, थपलियाले भने, ‘आइस गाडी प्रयोग गरिरहेका र नयाँ मोडलमा अपडेटेड हुने ग्राहक नै आकर्षित हुने अनुमान छ।’
धेरै मोडल एकै पटक सार्वजनिक हुँदैमा अस्वस्थ प्रतिस्पर्धा नहुने उनको भनाइ छ।