यसै सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने

 संवाददाता    २०८१, २८ माघ सोमबार १०:२२     94 जनाले पढ़िसके



Spread the love

काठमाडौं । पाइप लाइनबाट पेट्रोल आयात यसै सातादेखि हुने भएको छ ।

नेपाल आयल निगमले भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइनबाट डिजेलसँगै पेट्रोल र मटितेल ल्याउन लागेको हो। गत जनवरीदेखि नै पाइप लाइनबाट पेट्रोल ल्याउने भनिए पनि परीक्षणकै क्रममा रहेकाले ल्याउन ढिलाइ भएको निगमले जनाएको छ ।

कार्यालयले यसअघि पाइप लाइनबाट पेट्रोल आयात गरी सफल परीक्षण भएपछि नियमित रूपमा आयात गर्न लागेको हो । मोतीहारीदेखि पाइप लाइनबाट आयात गरिएको पेट्रोल अमलेखगन्जमा भण्डारण गरेर पोखरा, जनकपुर र विराटनगरमा आपूर्ति गर्ने तयारी छ ।

पाइप लाइनबाट आयात गरिएको पेट्रोल भण्डारण गर्न तीन वटा ट्याङ्की निर्माण गरिएको छरु। जसमा १७ हजार ४९० किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ । हाल अमलेखगन्जबाट दैनिक पाँच सय किलोलिटर पेट्रोल खपत हुने गर्छ । निगमले २०७६ देखि पाइप लाइनमार्फत डिजेल आयात गरिरहेको छ ।

हाल पाइप लाइनबाट ल्याइएको डिजेल अमलेखगन्जमा भण्डारण गरी थानकोट, विराटनगर, जनकपुर, भैरहवा र पोखरामा वितरण भइरहेको छ। पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १.५० पैसा मूल्य ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।

हाल बरौनीबाट दैनिक १४ लाख लिटर पेट्रोल ट्याङ्रबाट आयात भइरहेको छ । पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँचदेखि छ करोड रुपियाँ र वार्षिक ६० देखि ७० करोड रुपियाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।

। यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेल आयात गर्न लागिएको हो ।