काठमाडौं । साँखु स्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका ब्रतालु शनिबार बेलुकी चाँगुनारायणको परदेश यात्रामा निस्केका छन् ।
माघ शुक्ल एकादशीका दिन साँखु बाट चाँगुनारायण स्नानको यात्रा गर्ने ब्रत विधि रहेको छ । माघ शुक्ल द्वादशीका दिन ब्रतालुले चाँगुनारायण मन्दिर मुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी चाँगुनारायणमा साँखु बाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ ।
परदेश यात्रा सकी ब्रतालु चाँगु बाट साँखु फर्कने परदेश यात्राको नियम छ । आज साँखु फर्कने ब्रतालुले त्यहीँ भोजन गर्न पाउनेछन् । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन ब्रतालुलाई खीर खुवाइएको थियो । ब्रतालुले माघ कृष्ण त्रयोदशी देखि परदेश यात्रा शुुरु गरेका थिए ।
माघकृष्ण चतुर्दशीका दिन साँखु बाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलि पल्ट पशुपति बाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिन्छ । माघ शुक्ल तृतीया देखि फेरि साँखु बाट पनौती पुगी एक रात बास बसिएको थियो ।
भोलिपल्ट पनौती बाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइएको थियो । परदेश यात्रामा ब्रतालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने ब्रत विधि छ । माधवनारायण ब्रत कठोर ब्रत मध्येमा पर्छ । कठोर ब्रत भए पनि ब्रतालुले सहज रूपमा यसको अभ्यास गर्दै आएका छन् ।।