डेढ सयभन्दा बढीको ज्यान लिने गरी १७ कात्तिक, ०८० मा जाजरकोट भूकम्पले १२ जिल्लाका करिब ९२ हजार घरमा क्षति गरेको प्रारम्भिक आकलन थियो, तर सरकारले वास्तविक र विस्तृत मूल्यांकन नगरेका कारण पीडित १५ महिनादेखि राहत र पुनर्निर्माणको पर्खाइमा छन् ।
१५ महिनाअघि (कात्तिक, ०८०) जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्यांकन (डिडिए)को प्रक्रिया बल्ल अगाडि बढेको छ ।
निजी आवास पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डिडिएका लागि त्रिविवि, इन्जिनियरिङ अध्ययन संस्थानको विपत् व्यवस्थापन केन्द्रसँग सम्झौता गरेको छ । त्यसबाहेक विभिन्न दातृ निकायले पनि डिडिएका लागि प्रतिबद्धता जनाएका छन् । प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मराज भुसालका अनुसार चालू आवभित्रै पुनर्निर्माण थाल्ने गरी केही दिनमै डिडिएको काम सुरु हुनेछ ।जाजरकोट भूकम्पमा मात्र १२ जिल्लामा ९१ हजार आठ सय ६२ घर पुनर्निर्माण–प्रबलीकरण गर्नुपर्ने प्रारम्भिक आँकडा रहे पनि विस्तृत मूल्यांकन अब हुन लागेको हो । साझेदार निकायसँग सहकार्यबाहेक प्राधिकरण आफैँले पनि विस्तृत क्षति मूल्यांकन गर्ने भएको छ ।
प्राधिकरणका सहसचिव इन्जिनियर अर्जुन बमका अनुसार डिडिएका लागि सहरी विकास मन्त्रालयसँग एक सय इन्जिनियर माग गरिएको छ । निजी आवास पुनर्निर्माणका लागि तराईमा तीन, पहाडमा चार र हिमालमा पाँच लाख रुपैयाँ तीन किस्तामा उपलब्ध गराउने र प्रबलीकरणका लागि ५० हजारदेखि एक लाखसम्म अनुदान दिने निर्णय सरकारले गरिसकेको छ ।दातृ निकायले पनि जनाए डिडिएमा प्रतिबद्धता पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्यांकन गर्न दातृ निकायले पनि प्रतिबद्धता जनाएका छन् । विपत् व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुन बमका अनुसार जाजरकोट र रुकुम पश्चिममा २६ हजार तीन सय ४१ घरको डिडिएका लागि सहमति भएको छ ।