काँक्रोको बीउ बेचेर मात्रै ६ करोड आम्दानी

 संवाददाता    २०८१, २२ माघ मंगलवार १२:३५     78 जनाले पढ़िसके



Spread the love

पर्वत । जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष रु छ करोड ३० लाख आम्दानी गरेका हुन् ।

स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा विसं २०५७ मा नारायणस्थान बीउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बीउ उत्पादनमा लागेका कृषकले यस वर्ष ६३ क्विन्टल काँक्रोको बीउ उत्पादन गरेका छन् ।प्रतिकिलो रु १० हजारका दरले बिक्री गर्दा उक्त रकम भित्र्याउन सफल भएको कृषक बाबुराम भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष ७० क्विन्टल बीउ उत्पादन भएकामा यस वर्ष ६३ क्विन्टल मात्र भएको हो । गत वर्ष रु सात करोड आम्दानी भएको थियो । उहाँका अनुसार कृषकले भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् ।समूह गठन भएको सुरुको वर्ष चार किलो काँक्राको बिउ र ६५ किलो ४० दिने मूलाको बीउ उत्पादन भएको कृषक भुसालले जानकारी दिनुभयो । सुरुआतमा रु आठ सयका दरले बिक्री गरेका कृषकले अहिले मूल्य वृद्धि भएर रु १० हजारमा बिक्री गर्दै आएका उहाँले उल्लेख गर्नुभयो ।

केही वर्ष मूला, उन्नत जातको गोलभेँडा, चम्सुरलगायत बीउ उत्पादन हुँदै आएको थियो । काँक्राको बीउबाट मनग्य आम्दानी हुन थालेपछि केही वर्षदेखि यसको मात्र व्यावसायिक उत्पादनमा गर्न थालिएको भुसालले बताउनुभयो । उहाँका अनुसार यहाँका ७२ परिवारले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन् ।

प्रत्येक वर्ष हरेक कृषकले न्यूनतम रु पाँच लाखदेखि रु १८ लाखसम्म बीउ बिक्री गरेर आम्दानी गर्दै आएका अर्का कृषक टुकप्रसाद पौडेलले जानकारी दिनुभयो । यस वर्ष आफूले एक क्विन्टल काँक्राको बीउ बिक्री गरी रु १२ लाख आम्दानी गरेको उहाँको भनाइ छ ।

पौडेलले दुःख गरेअनुसारको प्रतिफल बीउ उत्पादनबाट हुने गरेकामा खुसी हुँदै भन्नुभयो, “काँक्राको बीउ नगदेँ बाली हो । गाउँबाटै बिक्री गर्न पाइएको छ । बीउ उत्पादनसँगै हिउँदे आलुखेती गर्न र पोखरेली जेठो बुढो धान पनि लगाउन पाइएको छ ।” उहाँका अनुसार पहिले मकैखेती गर्ने बारीमा यहाँका कृषकले व्यावसायिक काँक्रो खेती गर्दै आएका हुन् ।

कृषकले फागुनको पहिलो साता रोपेको काँक्रा जेठ महिनामा तयार भई थन्क्याउने काम गर्छन् भने उत्पादित बीउलाई असारसम्ममा बिक्री गर्दैै आएका छन् । यहाँ उत्पादित अधिकांश बीउ काठमाडौँको कालीमाटी बजारका व्यापारीहरूले खरिद गर्दैै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख पर्शुराम अधिकारीले जिल्लाको फलेबास नगरपालिका–११ पाङ्राङ र जलजला गाउँपालिका–७ धाइरिङमा व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादन हुँदै आएको जानकारी दिनुभयो ।

उहाँले उत्पादित बीउ कृषि अनुसन्धान केन्द्र र नार्कमार्फत विभिन्न क्षेत्रमा सिफारिस गर्ने गरिएको छ भन्दै व्यावसायिक कृषकलाई केन्द्रबाट विभिन्न अनुदान र प्राविधिक सहयोग गर्ने गरिएको बताउनुभयो । पर्वतको धाइरिङका कृषकले बीउ बिक्री गरी यसवर्ष रु चार करोड भित्र्याएका छन् ।