कन्चनपुरको बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ। विद्यार्थी र संरक्षण समूहमा आवद्ध युवाहरु चरा हेर्नका लागि पुग्ने गरेका छन्।
चराप्रति चासो राख्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै अनुसन्धानकर्ता पनि ताल क्षेत्रमा पुग्ने गरेको भुराकोटका स्थानीय दिनेश चौधरीले बताए। ‘पहिले तालमा एकनासको पानी हुँदा चराको सङ्ख्या निकै बढी हुने गरेको थियो,’ उनले भने, ‘हाल ताल क्षेत्रमा बढ्दो अतिक्रमण र आहाराको कमीले चराको सङख्या घट्दै जान थालेको छ।’
तालमा ५५ प्रजातीका जलपक्षी पाइने गरेका छन् । एकै तालमा धेरै प्रजातिका चरा फेला पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिर यो ताल मात्रै रहेको छ। नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरुलाल डगौराका अनुसार ३० बिघा क्षेत्रफलमा फैलिएको तालमा सिलसिले हाँस, नकटा, कुर्मा, लामऔंँले, जलअप्सरा, बगाले सीम कुखुरा, सानो जलेवा, सारस, घुँघिडीफोर गरुड, भुडिफोर गरुड, बकुल्लाका प्रजाती पाइने गरेका छन्।
यसैगरी, कैले हाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनगजुरे हाँस, खडखडे हाँस, सुइरे पुच्छे, कल हाँस, मालक हाँसलगायत ताल क्षेत्रमा रहेको चरा विज्ञ डगौराले बताए।
रैथाने प्रजातीका जलपक्षी बाह्रैमहिना ताल क्षेत्रमा हेर्न पाइन्छन् भने आगन्तुक चरा हिउँदका बेला मात्रै ताल क्षेत्रमा रहने गर्दछन् । गर्मी समय सुरु हुनु अगावै आगन्तुक चरा पुरानै क्षेत्रमा फर्कने गरेका छन्।