सरस्वती पूजाका लागि मूर्ति बनाउन भ्याईनभ्याई

 संवाददाता    २०८१, २० माघ आईतवार १६:१२     190 जनाले पढ़िसके



Spread the love

सुनसरीमा सरस्वती पूजाका लागि एक हजार बढी मूर्तिको कारोबार भएको छ । सुनसरीका मुर्तिकारहरुका अनुसार एक हजार बढी मुर्ती विक्रि हुदाँ एक करोडको मूर्तिको कारोबार भएको हो ।

एक महिना अघिदेखि आकर्षक रुपमा बनाएको मूर्तिबाट राम्रो आम्दानी गरेको इनरुवाका मुर्तिकार लक्ष्मण मेहताले बताउनुभयो । आफूहरुलाई एक महिनाअघिदेखी भ्याईनभ्याई भएकोमा सोमबार सरस्वती पूजा हुने भएकाले आईतबार मात्रै एक सय बढी मुर्ती आफूले विक्रि गर्दा पाँच लाखको कारोबार भएको मेहताले बताउनुभयो ।

सरस्वती पूजाका लागि विद्यालय, शैक्षिक संस्था र व्यक्तिहरुले समेत मूर्ति लाने भएकाले सोचे भन्दा राम्रो आम्दानी भएको अर्का मुर्तिकार सञ्जय चौधरीले बताउनुभयो । सरस्वती पूजा अगाडि नै कलात्मक र आकर्षक मूर्ति निर्माण गरेको चौधरीको भनाइ छ ।

शिक्षक, विद्यार्थी र शैक्षिक संस्थालाई माटोबाट निर्माण गरिएको सरस्वतीको कलात्मक मूर्ति सहजरुपमा पुर्‍याउने उद्देश्यका साथ सदरमुकाम इनरुवाका मूर्तिकार विनोद यादव, सरोज यादव, लक्ष्मण मेहता, रामेश्वर मेहता, रन्जय यादव सहितका दर्जन बढीले एक हजार बढी मुर्ति बनाई विक्रि गर्नुभएको हो । अरु बेला खासै काम नगर्ने मूर्तिकारहरु अहिलेको चिसोको बेवास्ता गर्दै सिजनमा दिनरात सरस्वती मूर्ति बनाउन व्यस्त बनेका थिए । उनीहरुलाई मूर्ति बनाउन भ्याईनभ्याई भएको स्थानीय देवराज यादवले बताउनुभयो ।

मूर्तिकार यादवले काठ, बाँस, पराल, माटो र रंगको संयोजन गरेर मूर्ति बनाएको र पाँच जनालाई एक महिनाको रोजगार पारिश्रमिक दिएर र खर्च कटाएर तीन लाख रुपियाँ आम्दानी भएको बताउनुभयो। यादवले इनरुवामै सबैभन्दा बढी संख्यामा र अरुको भन्दा आकर्षक मूर्ति बनाएकाले राम्रो आम्दानी गरेको दावी गर्नुभएको छ ।

सदरमुकाम इनरुवा सहित कोशी गाउँपालिकाको लौकही, हरिपुर, हरिनगर गाउँपालिकाको भुटाहा, बसन्तपुर, गौतमपुर, बर्जु गाउँपालिकाको अमाहिबेलाहा र चिमडी लगायतका स्थानमा रहेका मूर्तिकारहरुले मुर्तिबाट आम्दानी गर्नुभएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय, शैक्षिक प्रतिष्ठान र निजी विद्यालयका सञ्चालकले समेत सरस्वती मूर्तिको पूजा गर्ने भएकाले मूर्तिको माग अत्यधिक बढेपछि आफूहरु माटोका कलात्मक मूर्ति बनाउन अन्तिमदिनसम्म व्यस्त बनेको मूर्तिकार यादवले बताउनुभयो ।

एउटा मूर्ति बनाउन एक हजार पाँच सयदेखि तीन हजारसम्म लाग्ने र तीन हजारदेखि २५ हजार रुपियाँसम्ममा एउटा मूर्ति बिक्री गरेको मूर्तिकार शिवनारायण पण्डीतले बताउनुभयो । मूर्तिबाट मात्र एक सिजनमा एक मुर्तिकारले खर्च कटाएर ५० हजारदेखि चार लाख ५० हजार रुपियाँसम्म आम्दनी गर्दै आएको मूर्तिकारको भनाइ छ । जिल्लामा २८ जनाभन्दा बढी मूर्तिकारले करिब एक करोड बराबरको सरस्वती मूर्ति निर्माण गरी बिक्री गरेको उनीहरुको अनुमान छ ।