स्वाइन फिभरले बंगुर मर्न थालेपछि मकवानपुरका किसान चिन्तामा

 संवाददाता    २०८१, १५ माघ मंगलवार १०:५२     72 जनाले पढ़िसके



Spread the love

हेटौँडा उपमहानगरपालिका-११ सिमलटारकी सावित्री गोम्बा पुरानो बंगुरपालक कृषक हुन्। उमेरले ७० वर्ष लाग्नै लागेकी उनले सिमलटारमा बंगुर पाल्न थालेको दुई दशक बितिसक्यो। सुरुमा २/४ वटा बंगुर ल्याएर पाल्न थालेकी सावित्री पछि व्यावसायिक बंगुरपालक नै बनिन्।

कुनै समय उनका खोरमा ७० देखि ९० वटासम्म बंगुर हुन्थे। वर्षमा ८/१० लाख रुपैयाँ आम्दानी गर्थिन्। तर पछिल्लो समय बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगका कारण सावित्रीको बंगुर खोर रित्तिएको छ।

‘खै के रोग हो? थररर्र काम्छ, घर्लपै भुइँमा ढलेपछि उठाउन सकिन्न,’ सावित्रीले सुनाइन्, ‘यसरी नै कति बंगुर मर्‍यो मर्‍यो। तीन क्विन्टलजत्तिको २० वटा बंगुर मरे। पठापाठीको त हिसाबै छैन। जन्मिएपछि नीलो भएर मर्‍यो। गर्भिणी माउ मात्रै ६ वटाजति मरिसके। पेटमा बच्चा भएकै बेला माउ मरेपछि त्यो बच्चाले जन्म लिनै पाएन।’

यो लागेर बंगुर भटाभट मर्न थालेपछि सावित्री दोधारमा परेकी छन्- अब बंगुर पालौँ कि नपालौँ?

त्यसो त उनी मात्र होइन, मकवानपुर जिल्लाभरिकै बंगुरपालक किसान यतिबेला स्वाइन फिभर रोगको मारमा परेका छन्। यो रोग नियन्त्रणका लागि खोप तथा औषधिसमेत नहुने भएकाले खोरै रित्तो हुनेसम्मको अवस्थामा पुगेको पीडित किसान बताउँछन्।

लामो समयदेखि बंगुर पालन पेसामै रमाइरहेका अर्का कृषक हुन्- पाल्देन गोम्बा। उनका खोरमा पनि कुनै समय ३५ वटासम्म बंगुर थिए।

केही बेचे। तर बेचेको भन्दा धेरै मरेरै सकियो। अहिले उनको बंगुर खोर पनि रित्तिएको छ। अब बेच्ने बेला भएको एउटा र दुइटा पाठा मात्रै बाँकी छन्। त्यो पनि कुन बेला ढल्ने हो भन्ने चिन्तामा गोम्बा छन्।

‘सबै मरेर सकियो, यो एउटा बाँकी छ। त्यो पनि कुन बेला ढल्ने हो थाहा छैन,’ उनले निराश हुँदै भने, ‘यो वर्ष मात्रै बंगुर मर्नाले ५ लाखभन्दा धेरै घाटा लाग्यो। खोर सबै खाली भएका छन्। अब त कहिल्यै बंगुर नपालौँ जस्तै लागेको छ।’

अफ्रिकन स्वाइन फिभर रोगले गर्दा वर्षौंदेखि व्यावसायिक रूपमै बंगुर पालन गरिरहेका मकवानपुरका किसानको पेसा नै यतिबेला संकटमा परेको छ।

मकवानपुरमा यो रोगका कारण अहिलेसम्म २ सय हाराहारीमा बंगुर मरेको पशु सेवा कार्यालय, मकवानपुरले जनाएको छ।

पछिल्लो तथ्यांकअनुसार मंसिर दोस्रो सातायता मात्र मकवानपुरका हेटौँडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकामा स्वाइन फिभरबाट १९० बंगुर मरिसकेका छन्।

बंगुर मरेपछि काठमाडौँमा रहेको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो।

बंगुरमा तीव्र रूपले अफ्रिकन स्वाइन फिभर फैलिएपछि यसको रोकथाम तथा न्यूनीकरणका प्रयास भइरहेको पशु सेवा कार्यालय, मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुर बताउँछन्। तर उक्त रोगको कुनै औषधि तथा भ्याक्सिन नहुँदा रोग लागिसकेपछि बंगुरलाई बचाउन भने नसकिने उनको भनाइ छ।

प्रमुख डा.ठाकुरका अनुसार यो रोग नियन्त्रणका लागि जिल्लामा बंगुरपालक किसानलाई सचेतनामूलक अन्तरक्रिया, जैविक सुरक्षा कायम गर्न चुन, फिनेल र स्प्रे प्रयोग तथा जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक बोर्ड पनि राखिएका छन्।

अफ्रिकन स्वाइन फिभर नियन्त्रण गर्न मधेस प्रदेश हुँदै मकवानपुर भित्रिने नाका हेटौँडाको रातमाटे, बागमतीको राई गाउँ र चितवनसँग जोडिएको लोथर क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको उनको भनाइ छ। तर यस विषयमा अहिलेसम्म कुनै पहल नभएको उनी बताउँछन्।

बंगुर मरेर खोर नै रित्तो भएका किसानलाई पशु बिमा गरेबापतको रकम उपलब्ध गराउन पनि पहल भइरहेको पशु सेवा कार्यालय, मकवानपुरको दाबी छ।

अफ्रिकन स्वाइन फिभर फैलिन नदिन मरेका बंगुरलाई सावधानीपूर्वक जमिनमा गाड्न, एक ठाउँबाट अर्को ठाउँमा बंगुरका पाठा नलैजान, फार्ममा स्प्रे गरेर निसंक्रमण गर्न पशु सेवा कार्यालयका प्रमुख डा. ठाकुरले किसानलाई आग्रह गरेका छन्।

उनले रोगबाट मरेका बंगुर काटेर नखान पनि सुझाव दिएका छन्।