जनता समाजवादी पार्टी, नेपालले कवाड व्यवसायीहरूको व्यावसाय सुरक्षाका लागि सरकारसँग माग गरेको छ।
बुधबार विज्ञप्ति प्रकाशित गरी काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।
प्रवक्ता मनिष कुमार सुमनद्वारा जारी विज्ञप्तिमा कवाड व्यावसायीले सरकारलाई तिर्नुपर्ने सम्पूर्ण करहरूसमेत तिर्दै १ लाख भन्दा बढी व्यक्तिहरूले रोजगारी समेत पाएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको अनुमति प्राप्त गरी काठमाडौं महानगरपालिकामा २५ वर्षदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएका र सरकारलाई तिर्नुपर्ने सम्पूर्ण करहरूसमेत तिर्दै १ लाख भन्दा बढी व्यक्तिहरूले रोजगारी समेत पाएको अवस्था छ।
देशमा सञ्चालित उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउनुको साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान गरिरहेको अवस्थामा हाल आएर काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु र लाखौ व्यक्तिहरूलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय कार्य भएकोले यस्ता कार्यलाई यथाशीघ्र बन्द गरी कवाड व्यवसायीहरूको सुरक्षाको साथै स्वतन्त्र रूपले आ-आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति गराउन जनता समाजवादी पार्टी, नेपाल सरकारसँग जोडदार माग गर्दछ।’