बिक्न छाडे ठेकी र मदानी

 संवाददाता    २०८१, ८ माघ मंगलवार ११:०१     87 जनाले पढ़िसके



Spread the love

म्याग्दी । सदरमुकाम बेनीमा ठेकी र मदानी बिक्री गर्न आएका टीका चुदारा निरास बनेका छन् । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघ शुरु देखि नै बागलुङ बाट ठेका र मदानी लिएर म्याग्दी आएका उनले सोचे अनुरुप सामान बिक्री गर्न सकेका छैनन् ।

गाउँ बाट मेलामा आउने सर्वसाधारण मध्ये निकै थोरैले मात्र ठेकी र मदानी खरिद गरेको चुदाराले बताए । “केही वर्ष अघि सम्म ठेकी र मदानीको माग पुर्‍याउनै कठिन हुने गथ्र्यो, मेलामा ल्याएका सामान केही दिनमै सकिन्थ्यो, अहिले बेनीमा आएको एक साता भइसक्यो, ठेकी र मदानीको बिक्री उत्तिधेरै भएको छैन”, उनले भने ।

गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, सिल्टे र प्लाष्टिकका ठेका तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले ठेकी र मदानी बनाउने सीप र पेसा सङ्कटमा पर्न थालेको छ । काठको ठेकामा गाई भैँसीको दूध, दही र मोही सङ्कलन गरिन्छ भने ठेकीलाई दूध दुहुन प्रयोग गरिन्छ । पछिल्लो समय काठका ठेकाको विकल्पमा धातु बाट बनेका ठेका बजारमा आउन थालेपछि परम्परागत सीप र काठको उपयोग गरी ठेका बनाउने पेसा अँगालेका समुदायलाई समस्या भएको छ ।

गिठादार काठ बाट परम्परागत सीप र औजारको प्रयोग गरेर बनाउने ठेकीलाई ३ हजार देखि रु १५ हजार सम्म मूल्य पर्ने गर्छ । बागलुङ नगरपालिका–१२ अमलाचौर बलेवामा घरेलु उद्योग बाट चुदाराले ठेका, मदानी, ठेकी, पुङ, पुचाई सँगै सजावटका लागि साना ठेकीका सामान बनाउँदै आएको छ । अहिले ६० वर्ष पुग्नु भएका चुदाराले आफूले २० वर्षको उमेर देखि नै व्यावसायिक रूपमा ठेका बनाउन थालेको बताए ।

‘‘बाउबाजेले गरेको पेसालाई मैले पनि निरन्तरता दिएको हुँ, तर मौलिक सीपलाई प्रयोग गरेर ठेका बनाउने पेसालाई सरकारी तवर बाट कुनै सहयोग भएको छैन, गाउँमा अधिकांशले यो पेसा छाडिसकेका छन्, मेरा छोराहरूले पनि अन्य पेसा र रोजगारी गर्न थालेका छन्, हामी पछि गाउँमा यसरी ठेका बनाउने मानिस भेटिदैन”, चुदाराले भने । चुदाराले म्याग्दीमा २०५० को दशकमा लाग्ने तत्कालीन माघेसङ्क्रान्ति मेला तथा २०६० सालपछि लाग्दै आएको म्याग्दी महोत्सवमा काठ बाट बनेका ठेका ठेकीका सामान बिक्री गर्न आउने गरेका छन् ।
रासस