रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा हुँदै छ।
हिजो बयान लिएका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस हुन लागेको हो।
रविका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जनाले बहस गर्ने भएका छन्।
रविका पक्षबाट भने पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गर्दै छन्। उनीहरूका लागि न्यायाधीश अधिकारीले सवा १ घण्टा समय तोकिदिएका छन्।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।कालिमाटीमा मुख्य कार्यालय रहेको यस सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड रूपैयाँ संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ अभियुक्तविरुद्ध गत पुस २१ मा मुद्दा दायर भएको थियो ।