बजारमा तरुलको बढ्दो कारोबार

 संवाददाता    २०८१, २८ पुष आईतवार १३:१३     62 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – माघे संक्रान्ति नजिकिंदै गर्दा बजारमा तरुलको कारोबार बढेको छ । बजारमा पाइने तरुल पनि थरीथरीका छन् । पाँचऔंले, सिंगाने पिंडालु, दुधे पिंडालु, रातो र सेतो घर तरुल, लालबन्दीको तरुल अर्थात् देशी तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल ।

कालीमाटीमा धेरै तरुल सर्लाहीबाटै भित्रिन्छ । त्यसबाहेक चितवन, नवलपरासी, सिन्धुली, धादिङ, नुवाकोट, पाल्पा लगायतका ठाउँमा पनि तरुल उत्पादन हुन्छ । आकाशे, पताले, सेतो अथवा घर तरुलको उत्पादन गरिरहेका सर्लाहीको बागमती नगरपालिकाका किसान जितेन मुखिया भन्नुहुन्छ, ‘२० विघा क्षेत्रफलमा तरुल लगाएको छु । सबै तरुल बिक्री भयो । अब पाँच/ सात विघाको तरुल निकाल्न बाँकी छ ।’

जातअनुसारका मूल्य

काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा तरुलको जातअनुसारको फरक–फरक मूल्य छ । सबैभन्दा महँगो सिमल तरुल किलोको तीन सय ६० रुपैयाँ पर्छ । अरू तरुलजस्तो स्वादिलो नभए पनि सिमल तरुललाई औषधिको रूपमा लिइन्छ र मधुमेहका बिरामीको लागि उपयुक्त हुन्छ । यो तरुल जमिनमाथि नै फल्छ । सिमल तरुल भारतबाट बढी आयात हुने गरेको व्यापारीहरु बताउँछन् ।त्यसपछि वन तरुल महँगो छ । यो तरुल विशेष गरी जङ्गगलमा पाइने भएकाले यसलाई वन तरुल भनिन्छ । कालिमाटीमा किलोको एकसयदेखि एकसय ५० रुपैयाँसम्म वन तरुलको कारोबार भइरहेको छ ।
यस्तै घर तरुल किलोको ६० देखि ७० रुपैयाँ पर्छ ।पानी तरुल र हात्तीपाईले तरुल धादिङमा बढी उत्पादन हुन्छ । यी तरुल ६० देखि ७० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

पहिले–पहिले माघे सङ्क्रान्तिलाई लक्षित गरेर मात्र तरुलको उत्पादन हुने गथ्र्याे । तर अहिले वर्षभरि नै तरुलको उपभोग हुने भएकाले खपत बढ्ने गरेको छ । नेपालमा मागअनुसार तरुल उत्पादन हुन नसकेको कन्दमूल विज्ञ दिवाकर न्यौपाने बताउनुहुन्छ । ‘कन्दमूल बाली हेपिएको बालीमा पर्छ’ न्यौपाने भन्नुहुन्छ, ‘यसको प्रवद्र्धनका लागि पालिका, प्रदेश र संघीय सरकारले तरुल खेती भइरहेका क्षेत्रमा गएर अनुदान कार्यक्रममार्फत किसानलाई सहयोग गर्नुपर्छ ।’