काठमाडौं- नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गर्न माग गर्दै कांग्रेस सर्लाहीका लक्ष्मण राय लगायतका नेता तथा कार्यकर्ताहरूले सानेपास्थित कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिन पुगेका छन्।
पार्टीको साधारण सदस्य समेत नरहने गरी उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै उनीहरू पार्टी कार्यालयमा पुगेका हुन्।
सर्लाहीको मनुष्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहेको बखत सो आयोजनामा आर्थिक अनियमितता गरेको र उक्त कसुरमा सर्वोच्च अदालत काठमाडौंबाट कसुर प्रमाणित समेत भइ एक करोड तेईस लाख विगो भराउने फैसलाको पूर्णपाठ समेत आइसकेको भन्दै बर्खास्तीको माग गरिएको हो।
आफूहरुले पार्टीमा बारम्बार कुरा राखेको ज्ञापनपत्र बुझाएको तर कुनै कारबाही प्रक्रिया नबढेकोले आज कांग्रेस पार्टी कार्यालय सानेपामा पुगेको सहभागीको भनाई छ।
यता, कांग्रेस अनुशासन समितिका आनन्दप्रसाद ढुंगानाले २८ गतेसम्म माग सम्बोधन हुने भनी जिम्मा लिएपछि धर्ना कार्य २८ गते सम्मका लागि स्थगित भएको कांग्रेस सर्लाहीका पदाधिकारीले जानकारी दिए।
राजनीतिक दल सम्बन्धि ऐन २ परिच्छेद- ३ को (ख) विपरित तथा नेपाली कांग्रेसको संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएमा पार्टीको साधारण सदस्यसमेत रहन नपाउने व्यवस्था छ। सोही अनुसार सभापति सिंहलाई पदबाट बर्खास्त गर्न माग गरिएको हो।