नायव महान्यायाधिवक्तासहितको टोली रविसहितको सहकारी मुद्दामा बहस गर्न पोखरामा

 संवाददाता    २०८१, १६ पुष मंगलवार १६:०६     92 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत संलग्न रहेको पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा बहस गर्न महान्यायाधिवक्ता कार्यालयबाट समेत टोली पोखरा पुगेको छ।

यो मुद्दामा जिल्ला न्यायाधिश नितिज राईको इजलासमा मंगलबार दिउँसोबाट थुनछेक बहस सुरु भएको छ। सरकारको तर्फबाट बहसका लागि महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतम पोखरा पुगेका हुन्।

रेग्मी र गौतमले बुधबार थुनछेक बहस गर्नेछन्।

मंगलबार भने जिल्ला सरकारी वकिल कार्यालय कास्कीकै अधिकारीहरुले बहस गर्नेछन्। बुधबार सुजाता पौडेल, शान्तिदेवी शर्मा, बिपिनराज तिवारी र कमला काफ्लेले बहस गर्ने तयारी छ। मंगलबार सरकारको तर्फबाट बहस नसकिने भएकाले बुधबार पनि बहस जारी रहनेछ।

सरकारी वकिल र जाहेरवालाको तर्फबाट बहसपछि सकिएपछि प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, रास्वपा सांसद सोबिता गौतम लगायतले बहस गर्ने तयारी गरेका छन्।

दुवै पक्षको बहसपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ। त्यसपछि उनीहरुलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने भन्ने आदेश हुनेछ।
पक्राउ परेका ७ जना प्रतिवादीकै बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो।

लामिछानेसहित पूर्व डीआईजी छविलाल बन्जाडे जोशी, लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अभियोगपत्रसाथ उपस्थित गराइएको छ।

विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकोमा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

यस्तै यी मध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ।

सम्पत्ति जफतका लागि रविपत्नी निकितासहित ५ जनालाई पनि प्रतिवादी बनाइएको छ।