काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ७ जना बयान सकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा मंगलबार जिल्ला अदालत कास्कीमा उनीहरुको बयान सकिएको हो ।
रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ । उनीहरुसँगको बयान सकिएसँगै मंगलबार नै थुनछेक बहस शुरु भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । शुरुमा अभियोजन पक्ष सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। पुनः अभियोजन पक्षले जवाफी बहस गरेपछि थुनछेक आदेश आउने छ।
यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध १ करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।