१० वर्षीया बालिकाको मृत्युपछि पाकिस्तान भागेर प्रहरीलाई फोन

 संवाददाता    २०८१, ३ पुष बुधबार ११:५४     63 जनाले पढ़िसके



Spread the love

बेलायतमा आफ्नै घरमा मृत भेटिएकी १० वर्षीया बालिकाका पिता र सौतेनी आमालाई आजीवन कारावासको सजाय सुनाइएको छ । गएको हप्ता ४२ वर्षका उर्फान शरिफ र ३० वर्षकी बेइनास बतूललाई सारा शरिफको हत्यामा दोषी ठहर गरिएको थियो ।

सन् २०२३ को अगस्टमा भएको बालिकाको मृत्यु चरम यातनाका कारण भएको अदालतको ठहर छ । बालिकाको २९ वर्षका काका फैजल मलिक पनि उनको मृत्युमा दोषी पाइएका छन् ।

फैजललाई अदालतले १६ वर्षको जेल सजाय सुनाएको छ । कुटपिटबाट बालिकाको मृत्यु भएपछि तीनैजना भागेर पाकिस्तान गएका थिए । पाकिस्तान पुगेर उर्फानले बेलायत प्रहरीलाई फोन गरेर उनको मृत्यु भएको भनेर बताएका थिए ।

आफूले छोरीलाई पिटेको भएपनि आशय उनलाई मार्नु नभएको जिकिर पनि उनले गरेका थिए । हत्याको जानकारी पाएपछि प्रहरी लन्डनमा रहेको ऊर्फानको घरमा गएका थिए ।

यस क्रममा सन् २०२३ को अगस्ट १० मा बालिकाको शव ओछ्यानमा ब्ल्याङ्केटमा बेरिएको अवस्थामा पाइएको थियो । बालिकाको शरीरमा ७० वटा ताजा चोट र अरु कयौँ पुराना चोट पनि भेटिएको थियो ।

शरीरभरि पोलेको, हड्डी टुक्रिएको, टोकेको दागहरू पनि टन्नै थिए । पाकिस्तान भागेका तीनै जना एक महिनाभन्दा बढी समयपछि भने बेलायत फर्केका थिए र हत्याको आशंकामा पक्राउ परेका थिए।