काठमाडौँ — नेपालमा वार्षिक औसत ८ हजार ६ सय ६६ डलर रेमिट्यान्स संयुक्त राज्य अमेरकाबाट आउने र प्रतिव्यक्ति रेमिट्यान्स कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाको भन्दा करिब दोब्बर गुणा धेरै रहेको अध्ययनले देखाएको छ ।
सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले मंगलबार सार्वजनिक गरेको ‘नेपाली माइग्रेन्ट ड्रिम्स् इन द अमेरिकन ल्यान्डस्केप’ अध्ययनअनुसार अमेरिकाबाट सन् २०२३ मा १।२८ अर्ब डलर विप्रेषण नेपाल भित्रिएको थियो । यो कुल रेमिट्यान्सको १२ प्रतिशत हो ।
अमेरिकी नेपाली डायस्पोराको प्रतिव्यक्ति रेमिट्यान्स अन्य देशहरूभन्दा अगाडि रहेको सो अध्ययनको निचोड छ । अध्ययनअनुसार अमेरिकाबाट आउने प्रतिव्यक्ति रेमिट्यान्स औसतमा ६ हजार ५ सय ४७ डलर छ । यो कतार, साउदी अरेबिया र मलेसियाजस्ता प्रमुख देशहरूभन्दा धेरै हो ।
कतारमा रहेका नेपालीले पठाउने रेमिट्यान्स औसतमा प्रतिव्यक्ति हजार ३ सय २७ डलर रहेको छ भने साउदी अरेबियाबाट औसतमा ३ हजार ३ सय ६१ डलर र मलेसियाबाट २ हजार ८ सय ७६ डलर नेपाल पठाउने गरेका छन् । ‘अमेरिकाबाट पठाइने प्रतिव्यक्ति रेमिट्यान्स कतारको भन्दा १।५१ गुणा, साउदी अरेबियाको भन्दा १.९५ गुणा र मलेसियाको भन्दा २.२८ गुणाले बढी छ,’ रिपोर्ट सार्वजनिक गर्ने क्रममा अध्ययनमा संलग्न विभव प्रधानले भने, ‘नेपाल भित्रिने कुल रेमिट्यान्समा अमेरिकाबाट आउने रेमिट्यान्सको योगदान करिब ११.६२ प्रतिशत छ ।’
अमेरिकामा रहेका नेपालीहरूले पठाउने रेमिट्यान्स रकम तुलनात्मक रूपमा कम भए पनि प्रतिव्यक्ति योगदान उच्च रहेको अध्ययनले देखाएको छ । अमेरिकी नेपालीहरूले अनौपचारिक रूपमा पनि परिवारजनलाई रकम पठाउने गरेको अध्ययनमा उल्लेख छ ।