सूर्यदर्शन सहकारी ठगीको आरोपमा फरार रहेका अभियुक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
प्रहरीको खोजी सूचीमा रहेका सहकारी सदस्य कृष्ण गुरुङलाई कतार जान लाग्दा विमानस्थलबाट पक्राउ गरिएको हो।
उनलाई पोखरा लगिसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले बताए।
‘उहाँलाई पोखरा ल्याइसकिएको छ। अहिले जिल्ला सरकारी वकिल कार्यालयमा बयान भइरहेको छ’, डीएसपी शर्माले भने।
गुरुङविरुद्ध प्रहरीले यसअघि नै पक्राउ अनुमति लिइसकेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अहिले पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, सहकारीकी कर्मचारी लिला पछाई लगायतलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।