बागलुङ — बचतकर्ताको रकम हिनामिना गरी ठगी गरेको आरोपमा बागलुङको एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । कोषाध्यक्ष र प्रबन्धक भने पुर्पक्षका लागि थुनामा गइसकेका छन् । पर्वतको फलेवास नगरपालिका वडा नम्बर–१ कार्किनेटामा रहेको ‘नागढुंगा बचत तथा ऋण सहकारी संस्था’का अध्यक्ष ६४ वर्षीय नारायण श्रेष्ठ सोमबार राति काठमाडौंमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी रविन विष्टले बताए ।
त्यसअघि पक्राउ परेका कार्यवाहक अध्यक्ष तथा कोषाध्यक्ष ५० वर्षीय दीर्घनारायण शर्मा र २६ वर्षीय प्रबन्धक अनिल थापालाई जिल्ला अदालतले पुर्पक्षका लागि करागार पठाएको छ । उनीहरूले बचतकर्ताको ५ करोड ६४ लाख रुपैयाँ रकम हिनामिना गरेको आरोप छ ।
पक्राउ पुर्जी जारी भएका उक्त सहकारीका अन्य १९ जना सञ्चालक र सदस्य फरार छन् । फलेवास नगरपालिका वडा नम्बर–१ की पीडित बचतकर्ता कमला शर्मासहित ४ सय ५ जनाको जाहेरीपछि उनीहरूविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले गत कात्तिक ८ गते सहकारी ठगी मुद्दा दर्ता गरेको थियो ।
उक्त सहकारीका कावा अध्यक्षसमेत रहेका कोषाध्यक्ष शर्मा र थापालाई मंसिर ७ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो । गत कात्तिक १० गते शर्मा र कात्तिक २६ गते थापा पक्राउ परेका थिए । उनीहरूले सहकारी ऐन २०७४ को दफा १२२ र गण्डकी प्रदेश सहकारी २०७५ को दफा ८४ को कसुर गरेको अभियोगमा दाबी छ । सञ्चालकहरूले झन्डै साढे ५ करोड ६४ लाख रुपैयाँ रकम ठगी गरेकोले सोही बराबरको बिगो भराउने तथा थप कारबाहीसमेतको माग दाबी गरिएको हो ।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराबाट आएका वित्तीय विश्लेषक तथा परामर्शदाता निर्मल गौतमले गरेको अध्ययन प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूसहित २३ जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर गरेका थिए । तीमध्ये फलेवास नगरपालिका–१ का ५९ वर्षीय तिलकान्त शर्माको भने निधन भइसकेको छ ।
फरार अभियुक्तको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । २०६७ देखि हालसम्म भएका सबै साधारणभाबाट शर्मा कोषाध्यक्ष र ऋण समितिको संयोजक बनेको रेकर्ड छ । साथै दुई वर्षअघि तत्कालीन अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएपछि कोषाध्यक्ष शर्मा नै कार्यवाहक अध्यक्ष भएका थिए । त्यसपछि सहकारीमा बचतकर्ताको रकम अपचलन शुरु भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सञ्चालकहरुले केही सदस्य र सम्पर्कमा कम आउने बचतकर्ताहरूको रकमसमेत व्यवस्थापक र सञ्चालकको खातामा गाभिएको समेत भेटिएको थियो ।