इजरायली आक्रमणमा ५ जना सिरियाली सैनिकको मृत्यु

 संवाददाता    २०८१, ११ आश्विन शुक्रबार १५:४३     87 जनाले पढ़िसके



Spread the love

एजेन्सी । लेबनान सँगको सीमा नजिक शुक्रबार इजरायलले गरेको हवाई आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु भएको सरकारी समाचार संस्था सानाले सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

“ सिरिया–लेबनानी सीमामा पर्ने कफर याबस नजिकै हाम्रो एउटा सैन्य चौकीमा इजरायल (शत्रु) ले हवाई आक्रमण गरेको छ”, सानाले स्रोतलाई उद्धृत गर्दै भनेको छ, “आक्रमणबाट पाँच सिरियाली सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।”

इजरायली सेनाले सिरिया बाट लेबनानको हिजबुल्लाहमा हतियार स्थानान्तरण गर्न हिजबुल्लाह समूहले प्रयोग गर्दै आएको सिरिया–लेबनान सीमामा आफ्ना लडाकू विमानले आक्रमण गरेको बताएको एक दिन पछि पाँच सिरियाली सैनिकको मृत्यु भएको हो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सको युद्ध अनुगमनकारी संस्थाका अनुसार इजरायली लडाकू विमानले सिरियाको कुशायर क्षेत्रलाई लेबनान सँग जोड्ने सीमालाई निशाना बनाएको थियो।

इजरायलले यसै साता लेबनानको हिजबुल्लाह माथि आक्रमण तीव्र पारे पछि सिरियामा भएको यो पहिलो आक्रमण भएको बेलायत स्थित युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।
रासस