कक्षा १२ को परीक्षाफल प्रकाशित

 संवाददाता    २०७९, १७ भाद्र शुक्रबार १५:०५     142 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ‘ग्रेडिङ पद्धति २०७८’ अनुसार नतिजा प्रकाशित भएको हो ।

बोर्डका अनुसार यसपटक ३ दशमलव ६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ छ । यस्तै, ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए ल्याउने ३० हजार १ सय ७, दुई दशमलव ८१ देखि ३ दशमलव २० जीपीए ल्याउने ६५ हजार २ सय ८४, दुई दशमलव ४१ देखि २ दशमलव ८० जीपीए ल्याउने ६४ हजार ९३, दुई दशमलव ०१ देखि २ दशमलव ४० जीपीए ल्याउने १० हजार ९ सय, एक दशमलव ६१ देखि २ जीपीए ल्याउने ३५ जना रहेका छन् ।

यसैबीच बोर्डले पहिलो पटक यसैपालीदेखि सुरु गरिएको प्रत्येक विषयमा सैद्धान्तिक तर्फ ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेको ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ उल्लेख गरिएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिनुभयो । दुई विषयमा मात्रै एनजी उल्लेख भएकाले भने ग्रेडवृद्धि परीक्षा दिन पाउने बोर्डले जनाएको छ । यसपटक १ लाख ८८ हजार ४ सय १० जनाको एनजी ग्रेड उल्लेख छ । जसमध्ये १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेड वृद्धिका लागि पुन: परीक्षा दिन पाउने छन् ।

बोर्डका अनुसार ग्रेड वृद्धिका लागि आगामी असोज ३० र ३१ गते परीक्षा सञ्चालन गरिनेछ । त्यसका लागि विद्यार्थीलाई आवश्यक प्रक्रिया थाल्न पनि बोर्डले आग्रह गरेको छ । बोर्डका अनुसार एनजी उल्लेख भएकाहरुले उच्च शिक्षामा भर्ना पाउने छैनन् । यसपटकको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थीले परीक्षाका लागि आवेदन दिएको मध्ये ३ लाख ६३ हजार ८ जना मात्रै परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र मा परीक्षा सञ्चालन भएको थियो ।