आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा सुरु, तीनधाराबाट असन पुर्‍याइने

 संवाददाता    २०७८, २६ चैत्र शनिबार १२:२९     137 जनाले पढ़िसके



Spread the love

काठमाडौं : वर्षा र सहकालका देवता मानिने करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:)को रथयात्रा आजबाट सुरु हुँदैछ।

आज जनबहालबाट सेतो मछिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा ल्याइन्छ। र, तीनधारा पाठशाला अघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराएर सयौं मानिसले तानेर घण्टाघर रत्नपार्क, भोटाहिटि हुँदै असनसम्म पुर्‍याउने छन्।

आइतवार भने रथलाई असनबाट इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ। सोमवार रथलाई हनुमानढोकाबाट मरु, जैसीदेवल, मजिपात हुँदै लगन पुर्‍याइन्छ। लगनमा मछिन्द्रनाथको आमाको मन्दिरमा रथलाई तीनपटक घुमाइन्छ र विधिविधानसहित दर्शन गराएर पुनः जनबहालमा मूर्ति लगिन्छ।

जात्राका लागि काठमाडौंको तीनधारा पाठशालाअगाडि करिब एकसाता अघिदेखि रथ निर्माण सुरु गरिएको थियो।