सर्लाही । सर्लाहीका कांग्रेस नेता एवं प्रजातन्त्र सेनानी खड्गबहादुर कार्कीको ७१ वर्षको उमेरमा बिहीबार राति हरिवन नगरपालिका–११ स्थित आफ्नै निवासमा निधन भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा कार्कीको निधनप्रति देउवाले गहिरो दुःख व्यक्त गरेको उल्लेख छ ।
देउवाले कार्कीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।
प्रजातन्त्रका लागि भएका विभिन्न आन्दोलनमा अग्रपंक्तिमा लडेका कार्कीको छवि असल नेताको रुपमा स्थापित थियो । कार्कीको शुक्रबार वागमती नदी किनारमा दाहासंस्कार गरिएको छ ।
दाहसंस्कार अघि कार्कीको पार्थिव शरीररमा नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गरे । कार्कीलाई सर्लाही जिल्ला उपसभापति सुरेन्द्र प्रसाद सिंह, पूर्व जिल्ला सभापति लक्ष्मण राय, कांग्रेस नेताहरुले पनि चार तारे झण्डा ओढाएका थिए । कार्कीलाई जिल्लाका अन्य पार्टीका सबैजसो नेता पुगेर श्रद्धान्जली दिएका थिए । 



कार्की २०३६ सालमा बहुदलको पक्षमा लागेर जेल परेका थिए । त्यसपछि पार्टीको आह्वानमा २०४२ साल, २०४६ साल, २०६२ सालमा निरन्तर प्रजातन्त्रका लागि लडेका कार्कीको निधनले पार्टीलाई ठूलो अपुरणिय क्षति भएको बताइएको छ।