केपी ओलीलाई जनतासँग मत माग्ने नैतिक अधिकार छैनः मेटमणि चौधरी

 संवाददाता    २०७८, १४ कार्तिक आईतवार ०९:३६     493 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफ्नो पार्टीको भविष्य छैन भन्नेलाई छोटो समयमै जवाफ दिएको दाबी गरेका छन्।

पार्टी स्थापनाको छोटो समयमै देशव्यापी संगठन बनाएर विभाजनको औचित्य पुष्टि गरेको चौधरीले उल्लेख गरेका हुन्।

काठमाडौंको शंखरापुर नगर कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘समाजवादीको भविष्य छैन भन्नेलाई जवाफ दिएका छौँ। दुई महिनाको अवधिमा ७५३ स्थानीय तहका वडा–वडामा पार्टी स्थापित भएको छ। समाजवादी देशको पहिलो र शक्तिशाली पार्टी बन्छ। देश सञ्चालन गर्न सक्ने पार्टी बनाउँछाैँ।’

समाजवादीको लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेका नेता चौधरीले एमाले विभाजन गरेको नेपालमा कम्युनिस्ट आन्दोलन र संविधान बचाएको दाबी गरे।

‘पार्टी विभाजन नगरेको भए कम्युनिस्ट आन्दोलन समाप्त हुन्थ्यो। कम्युनिस्ट आन्दोलन सकिनुभन्दा विद्रोह सही छ, उनले अगाडि भने, ‘हामीले संविधान बचाएका छौँ। कानुनी राज्य स्थापना गर्ने काम गरेका छौँ।’

नयाँ पार्टीले जनमत चुनाव जित्दैन भन्ने कुरालाई ०६४ सालमा माओवादीले पाएको जनमत हेर्न उनले आग्रह गरे। चौधरीले केपी ओली र एमालेलाई जनतासँग मत माग्ने नैतिकता अधिकार नभएको जिकिर गरे।

‘ओलीको पार्टीसँग फेरि जनतासँग भोट माग्ने नैतिक अधिकार छैन। ओली जत्तिको अक्षम व्यक्ति कोही छैन,’ उनले प्रश्न गरे, ‘फेरि ओलीलाई भोट दिने किन? संसद् विघटन गर्न? चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ। एक समय राम्रो ब्रान्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन। मान्छेले किन्दैनन् त्यसैगरी एमालेलाई पनि अब जनताले पत्याउँदैनन्।’

समाजवादीले शंखरापुरमा श्याम वाइवाको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी घोषणा गरेको छ। युवाको नगर कमिटी घोषणा पनि गरेको सचिव अमृत दंगालले जानकारी दिए।