काठमाडौं । भोलि (मंगलवार) देखि काठमाडौंको ८ वटा स्थानीय तहमा कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो एस्ट्राजेनेका खोप पाएकालाई दोस्रो मात्रा लगाइने जनाएको छ ।
यस सूचना अनुसार काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्टाजेनेकाको दोस्रो मात्रा लगाइने छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार पाँच वटा अस्पतालबाट पनि एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन पाइने छ ।
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ । यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछन् भने स्थानीय तहका खोप केन्द्रमा तीन दिन सञ्चालन हुने मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्षमाथिका समूहलाई एस्ट्राजेनेकाको पहिलो मात्रा लगाएको थियो ।