गत असारमा प्रतिकिलो औसतमा १७ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च बिन्दुमा पुगेको खसीको मासुको मूल्य त्यसयता घट्न सकेको छैन । नेपालको सबैभन्दा बढी मासु खपत हुने पर्व दसैं नजिकिँदै गर्दा मूल्य अझ बढ्ने व्यापारीको अनुमान छ ।
गत वर्षको दसैंमा खसीको मासु प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा बिक्री भएको थियो । अहिले यसको मूल्य प्रतिकिलो १६ सयदेखि १७ सय रुपैयाँ पुगेको छ ।
व्यापारीले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ्नु र बाढीपहिरोपछि ग्रामीण क्षेत्रबाट खसीबोका ल्याउन कठिन हुनुलाई मूल्यवृद्धिको कारण मानेका छन् । तर उपभोक्ता अधिकारकर्मीले उत्पादन र ढुवानी लागत बढेकै कारण यति धेरै मूल्यवृद्धि भएको मान्न नसकिने बताएका छन् । उनीहरूका अनुसार खसीबोका कारोबारमा संलग्न बिचौलियाका अनेक तह, कमजोर बजार अनुगमन र नेपालको खण्डित पशुपालन क्षेत्र पनि मूल्य बढ्नुका कारण हुन् ।
‘यस वर्ष दसैंको माग धान्ने गरी पर्याप्त संख्यामा खसीबोका छैनन् । त्यसैले मूल्य बढ्न सक्छ,’ नेपाल पशुपन्छी व्यवसायी संघका अध्यक्ष तथा देशकै सबैभन्दा ठूलो पशु व्यापार केन्द्र कलंकी खसीबजारका व्यवस्थापक जीवन खतिवडाले भने । खतिवडाका अनुसार काठमाडौं उपत्यकामा मात्रै दसैंका दुई सातामा सामान्यतया ८० हजारदेखि एक लाखसम्म जिउँदा खसीबोका खपत हुन्छन् । उपत्यकामा वर्षभरि खपत हुने करिब पाँच लाख खसीबोकामध्ये ठूलो हिस्सा दसैंको अवधिमा बिक्री हुन्छ ।