दशैंमा एटीएमबाट सयको नयाँ नोट लिन सकिने व्यवस्था

 संवाददाता    २०८३, २१ आश्विन बुधबार १६:१०     0 View



Spread the love

नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटीएम मेसिनबाट सयका नोट पनि वितरण गर्न थालेका छन्। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोसी बाढीले ठूलो जनधनको क्षति पु¥याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए।

‘एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो। यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन,’ पौडेलले भने, ‘चाडपर्वकै मुखमा भोटेकोसी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैंकले दशैं मनाउन भनी सूचना जारी गर्न पनि उपयुक्त देखिदैन। हामीले यो ढङ्गले गर्न लागेका हौँ।’

यही असोज १ गतेदेखि नै राष्ट्र बैंकको थापाथली, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला र सफा नोट दिने काम भइरहेको उनले बताए। गत चार-पाँच वर्षदेखि राष्ट्र बैंकले चाडपर्व लक्षित गर्दै नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।

गत भदौ ३१ गतेसम्म सात खर्ब ९४ अर्ब करेन्सी इन सर्कुलेसन भएको उनले बताए। यो रकमको करिब आठदेखि १० प्रतिशतसम्मको रकम दशैंमा वृद्धि हुने अनुमान गरिएको उनले जानकारी दिए।