जबराको सम्पत्ति र बैंक खाता रोक्का गर्न प्रक्रिया अघि बढाउने तयारी

 संवाददाता    २०८३, २१ आश्विन बुधबार १६:०५     10 जनाले पढ़िसके



Spread the love

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथी सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।

बुधबार जबरासहित उनीसँग कनेक्सन देखिएका व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारेको छ।

यसअघि उनीसँग कनेक्सन देखिएका व्यक्ति र जबराबिचको मोवाइलबाट खुलेका प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाइएको स्रोतको दाबी छ।

‘उनको ग्याङदेखि घरका सहयोगी समेत अब अनुसन्धानको दायरामा आउँछन्। अहिले जबराको घर, उनका आफन्तको घरमा पनि अनुसन्धान टोली पुगेको छ। प्रमाणहरु बरामद गर्ने काम हुन्छ’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘जबराको सम्पत्ति र बैंक खाता रोक्काका लागि पनि तत्काल पत्राचार हुन्छ।’

भदौ १० गते राति जबरालाई पक्राउ गरेर प्रहरी कार्यालय लगिएको थियो। १२ घण्टा प्रहरी कार्यालयमा राखेर उनलाई रिहा गरिएको थियो। तर त्यो बिचमा उनको मोवाइल समेत प्रहरीले नियन्त्रणमा लिएर १२ घण्टापछि फिर्ता गरेको थियो।

झापाका इनम सापकोटा अहिले पनि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। उनीमार्फत व्यवसायी दीपक भट्टलाई छुटाउन समेत उनले चलखेल गरेको प्रमाण फेला परेको सुरक्षा स्रोतको दाबी छ।

सोही कारण दीपक भट्टलाई ललितपुरको नक्खु कारागारबाट सरुवा गरेर सिन्धुपाल्चोक पु¥याइएको छ। यता जबरामाथीको अनुसन्धान भने अगाडि बढेको हो।

जबरालाई पक्राउ नगरे पनि उनीसँगै उनीसँग कनेक्सन देखिएका सबैमाथी अनुसन्धान अगाडि बढाउने प्रधानमन्त्री कार्यालयले विभागलाई निर्देशन दिएको छ। जबरा र उनीसँग जोडिएका बिचौलिया सापकोटासम्म कनेक्सन देखिएको भन्दै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशी दाहाललाई सोमबार निलम्बन गरिएको छ। दाहालमाथी जाँचबुझ गरेर बिहीबारसम्ममा प्रतिवेदन बुझाउन भनिएको छ।