विद्युत् दुर्घटनाका घाइते तामाङलाई १७ लाख ७५ हजार राहत

 संवाददाता    २०८३, १६ आश्विन शुक्रबार १०:५१     24 जनाले पढ़िसके



Spread the love

नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५, सिमल भञ्ज्याङ खर्कभितेमा भएको विद्युत् दुर्घटनामा घाइते तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंगबापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

२७ वर्षीय तामाङ ११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनको काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो ।

प्राधिकरणका अनुसार तामाङको उपचारमा ७ लाख १८ हजार ६७६ रुपैयाँ खर्च भएको थियो । अस्पतालमा भर्ना भएर उपचार गराएको ६० दिनको अवधिका लागि एक जना कुरुवाको खर्चबापत ६० हजार रुपैयाँ र पूर्ण अंगभंगबापत १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो । यसअनुसार तामाङले कुल १७ लाख ७८ हजार ६७६ रुपैयाँ पाउनेछन् ।

प्राधिकरणले यसअघि तामाङलाई पाँच लाख रुपैयाँ पेश्की दिइसकेको छ । प्राधिकरण मेडिकल बोर्डले उपचारसँग सम्बन्धित बिल, भरपाई, चिकित्सकीय प्रेस्क्रिप्सन तथा अन्य कागजात अध्ययन गरी उपचारमा लागेको खर्चमध्ये पेश्की कटाएर बाँकी रकम तथा दुर्घटना क्षतिपूर्ति भुक्तानीका लागि सिफारिस गरेको थियो ।

प्राधिकरण दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार दुई लाख रुपैयाँसम्मको उपचार खर्चका लागि उपचारमा संलग्न चिकित्सकको सिफारिस पर्याप्त हुने व्यवस्था छ । दुई लाख रुपैयाँभन्दा बढी उपचार खर्च भएमा प्राधिकरण मेडिकल बोर्डको सिफारिस आवश्यक पर्ने भएकाले तामाङको उपचार खर्चसम्बन्धी कागजात बोर्डबाट अध्ययन तथा सिफारिस गरिएको प्राधिकरणले जनाएको छ ।

विनियमावलीमा प्राधिकरणले काममा लगाएका म्यादी, करार तथा ज्यालादारी कामदार वा सर्वसाधारण व्यक्ति विद्युत् दुर्घटनामा परी मृत्यु वा घाइते भएमा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ । सामूहिक दुर्घटना बीमा नगरिएको अवस्थामा दुर्घटनाबाट मृत्यु वा गम्भीर क्षति भएमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउन सकिने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ ।