धरानका दुईवटा विद्यालयमा शिक्षक पदपूर्तिको माग गर्दै आमरण अनशनमा बसेका रोजन शंकरले अनशन तोडेका छन्। धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाले नगर बाल सञ्जालका प्रतिनिधिसँग ५ बुँदे सहमति गरेपछि उनले अनशन तोडेका हुन्।
अनशनका क्रममा आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै रोजनले केही दिनअघि कार्यवाहक मेयरकै कार्यकक्षमा फिनेल सेवन गरेका थिए। त्यसपछि उनलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। सहमति जुटेपछि कार्यवाहक मेयर बेघाले प्रतिष्ठानमै पुगेर जुस पिलाएर उनको अनशन तोडाएका हुन्।
धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा लामो समयदेखि रिक्त रहेको शिक्षक पदपूर्तिको माग गर्दै बाल सञ्जाल आन्दोलित भएको थियो। सञ्जालका अनुसार ज्ञानोदयमा ३ वर्षदेखि र सरस्वतीमा ९ महिनादेखि शिक्षकको अभाव थियो, जसका कारण विशेषगरी कक्षा १० का विद्यार्थीहरूको पठनपाठन प्रभावित हुँदै आएको थियो।
सहमति भएसँगै कार्यवाहक मेयर बेघाले दुवै विद्यालयमा तत्काल शिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाएका छन् ।