एसपीलाई भन्सार अधिकृतको फोन– भारतीय गाडी समातेको भन्दै ‘सीधै गृहमन्त्रीलाई हान्छु’

 संवाददाता    २०८३, ७ आश्विन बुधबार १३:१५     108 जनाले पढ़िसके



Spread the love

भन्सार पास भएर आएको भारतीय गाडी समातेको विषयमा कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले थर्काएका छन् । उनीहरुबीच भएको टेलिफोन कुराकानी सामाजिक सञ्जालमा लिक भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीलाई कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएका हुन् । सशस्त्रले रोकेको गाडी तत्काल नछोडेको खण्डमा उनले गृहमन्त्रीदेखि आइजीपीसम्मलाई ‘फोन लगाउने’ उनले बताएका छन् ।

भट्टले केसीलाई गड्डाचौकीबाट भन्सार पास भइसकेको गाडी कैलालीमा किन नियन्त्रणमा लिएको भन्दै प्रश्न गर्छन् । केसीको जवाफ नसुनी उक्त गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमा पठाउन उर्दी गर्छन् । गाडी नछाडिए गृहमन्त्री, आईजीपी र भन्सार विभागका प्रमुखलाई फोन गरिदिने चेतावनीसमेत भट्टले संवादका क्रममा एसपी केसीलाई दिएका छन् ।

एसपी केसीले भारतीय गाडी भएकाले नियन्त्रणमा लिएको बताएपछि भट्टले त्यसलाई ‘भारतीय गाडी’ भन्न आनाकानी गर्दै ‘सामान बोकेको गाडी’ भएको बताएका छन् ।

‘के भनेर समातेको हो सर ?’ भन्सार अधिकृत भट्टले रुखो स्वरमा प्रश्न गर्छन् ।

एसपी केसीले जवाफ दिन्छन्, ‘त्यो अलिकति अन्डरविलिङ छ कि भनेर शंका लागेर हो ।’ भट्टले अन्डरविलिङ भएको भए गाडी भन्सार कार्यालयमा पठाउनुपर्ने बताउँछन् । एसपी केसीले पनि त्यसमा सहमति जनाउँछन् । त्यसपछि भन्सार अधिकृत भट्टले थप कुरा सुनाउन थाल्छन् ।

‘भन्सारमा पठाइदिनुपर्यो । होइन भने ठीक छ, हजुरहरूलाई लाग्छ भने छोडिदिनुपर्यो । बाटोमा दुःख दिने कामचाहिँ नगरौँ सर,’ उनी भन्छन्, ‘‘त्यसले दुःख पायो भने, भोलि भन्सार पुगेन वा छुटेन भने म सिधै हजुरको आईजीपी वा गृहमन्त्रीलाई हान्छु ।’

भट्टले यसअघि पनि कञ्चनपुरबाट जाने सामानलाई बाटोमा दुःख दिने र धनगढीमा धेरै गल्ती हुने गरेको आरोप लगाएका छन् । त्यसमा एसपी केसीले जवाफ दिन नपाउँदै भन्सार अधिकृतले फेरि भन्छन्, ‘भोलि त्यो गाडी गएन या त्यसमा कुनै क्वान्टिटी फरक हालेर गयो भने मेरो डीजी, हजुरको आईजीपी प्लस तीन–चार जनालाई म स्वाट्टै हान्छु ।’

जम्बो टोलीसहित गाडी नियन्त्रणमा लिन गएको भन्दै भन्सार अधिकृतले फोनमै एसपी केसीसँग केरकार गरिरहन्छन् ।

‘त्यो कुनै आतंकवादी थियो र सर ? भट्टले प्रश्न गर्छन् । एसपी केसीले ‘होइन, त्यस्तो होइन, आतंकवादी त…’ भन्न नपाउँदै भट्टले फेरि प्रश्न गर्छन्, ‘तपाईंहरूको यही महेन्द्रनगरकोले नसमात्ने, यहाँ लोकलले नसमात्ने अनि त्यहाँ गएर कसरी समातियो ? त्यो पैसा नपाएपछि समातिएको होइन सर ?’

त्यसको जवाफमा एसपी केसीले भनेका छन्, ‘खै, पैसा पाएको नपाएको त तपाईंहरूलाई थाहा होला ।’

भट्टले प्रश्न गर्छन्, ‘अनि त्यो धनगढीमा कसरी समातियो सर ? म यहाँको एसपी साहेबलाई पनि भन्छु, तपाईं पनि कारबाहीको भागीदार हुनुहुन्छ ।’

अन्तिममा पनि भन्सार अधिकृत भट्टले कारबाही गर्ने चेतावनी दिँदै एसपी केसीसँग आक्रोशपूर्ण शैलीमा कुरा गरेको अडियोमा सुनिन्छ ।

प्रहरी स्रोतका अनुसार भट्टले प्रहरी नायब उपरीक्षक (डीएसपी) हीरासिंह महरालाई पनि फोन गरेर चेतावनी दिएका थिए । डीएसपी महरासँग उनले ‘तपाईंहरूलाई जानेको छु’ भन्दै स्पष्टीकरण सोध्ने तथा कारबाही गर्ने बताएका छन् ।

‘तपाईंहरूले पैसा खानुभयो’ भन्दै भट्टले डीएसपी महरासँग समेत चर्को स्वरमा कुरा गरेको प्रहरी स्रोतको दाबी छ ।

के हो प्रकरण ?

प्रहरी स्रोतका अनुसार अडियो संवाद अत्तरियामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारतीय गाडी नियन्त्रणमा लिएको घटनासँग सम्बन्धित छ ।

। अत्तरियामा यूपी ३१ सीटी १३०३ नम्बरको भारतीय गाडी टायर, ट्युबलगायतका सामानसहित नियन्त्रणमा लिइएको थियो । उक्त गाडी गड्डाचौकी भन्सार कार्यालयबाट भन्सार प्रक्रिया पूरा गरी आएको बताइएको छ ।

सामानको कम मूल्यांकन गरी भन्सारबाट पास गरिएको भन्ने सूचनाका आधारमा संयुक्त टोलीले गाडी नियन्त्रणमा लिएको प्रहरी स्रोतको दाबी छ । नियन्त्रणमा लिइएको गाडी सुरक्षाकर्मीले कैलाली भन्सार कार्यालयमा बुझाएका थिए । कैलाली भन्सारबाट पुनः इलाका प्रहरी कार्यालयमार्फत कञ्चनपुर भन्सार कार्यालयमा पठाइएको जनाइएको छ ।

गाडी नियन्त्रणमा लिनुपर्ने अवस्था, सामानको वास्तविक मूल्यांकन तथा भन्सार प्रक्रिया मिलेको वा नमिलेको विषयमा सम्बन्धित निकायबाट विस्तृत आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ ।