उपस्थिति न्यून भएपछि मुगुको सोरु–८ मा कांग्रेस वडा अधिवेशन रद्द

 संवाददाता    २०८३, ४ आश्विन आईतवार ११:१२     51 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मुगु जिल्लाको सोरु गाउँपालिका – ८ मा वडा अधिवेशनमा जम्मा पाँच जना मात्रै उपस्थित भएका छन् । काेरम नपुगेपछि अधिवेशन नै हुन सकेन ।

१९५ क्रियाशील सदस्य रहेको उक्त वडामा वडा सभापति र वडाध्यक्षसहित पाँचजना उपस्थित भएका थिए । पुरानो वडा कार्यसमितिका सभापति हस्त रोकायाबाहेक समितिका अन्य कुनै सदस्य उपस्थित नभएको जनाइएको छ ।

नेपाली कांग्रेसको विधानअनुसार उक्त वडाबाट २१ सदस्यीय वडा कार्यसमिति र २४ जना क्षेत्रीय प्रतिनिधि चयन हुनुपर्ने व्यवस्था रहेको छ । तर आवश्यक सहभागिता नहुँदा निर्वाचन तथा प्रतिनिधि छनोटको प्रक्रिया अघि बढ्न नसकेको हो ।

स्थानीय नेपाली कांग्रेसका नेता धर्मराज शाहीले सामाजिक संजालमा आजको उक्त अधिवेशनको बारेमा पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै भने,’२०७८ मा यही वडामा करिब ३०० जना कांग्रेसका दाजुभाइ एक ठाउँमा उभिएर अधिवेशनलाई उत्सवका रूपमा मनाएका थियौँ । आज त्यही वडामा जम्मा पाँच जना उपस्थित भएर अधिवेशन गर्ने अवस्था आउनु दुःखद् छ ।’

उनले नेतृत्वलाई अझै समय रहेको भन्दै पार्टीभित्रको विवाद समाधान गरी कांग्रेसलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् ।