साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित दर्ता गरेको छ।
लगातार जितसँगै नेपाली टोली एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ। जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ।
समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार हङकङसँग खेल्नेछ।
नेपालले समुह चरणको पहिलो खेलमा बहराइनलाई ७ विकेटले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।
आइतबार साउदी अरेबियाले दिएको १ सय ९१ रनको लक्ष्य नेपाली टोलीले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि गुल्सन झा ४४ र रोहित पौडेल २४ रनमा अविजित रहे। गुल्सनले ३५ बलमा ३ चौका र ३ छक्का हाने। रोहितले ३७ बलमा २ चौका प्रहार गरे।
ईशान पाण्डेले ५९ बलमा २ चौका सहयोगमा ४० रन बनाए। देव खनालले ३९ रनको योगदान दिए। उनले ५८ बलमा १ चौका र १ छक्का प्रहार गरे।
ओपनर अर्जुन कुमाल १५ र आशिफ शेख २० रन बनाउँदा क्याच आउट भए।
त्यसअघि मलेसियाको वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा १ सय ९० रन बनाउँदा अलआउट भयो।
साउदीका लागि ओपनर अब्दुल वाहिद अब्दुल गफरले सर्वापधक ७७ रनको योगदान दिए। ८९ बलमा १० चौका र २ छक्का प्रहार गरेका उनी ललित राजवंशीको बलमा एलबीडब्लुु धरापमा परे।
मुहम्मद आतिफले ३० र मोहम्मद हिसाम शेखले २८ थपे। मुहम्मद सकिबले १४, जैन ृल अबिदिनले १२ र इस्तियाक अहमदले १० रन बनाए।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २ मेडन राख्दै १९ रन खर्चे।
दीपेन्द्र सिंह ऐरीले ९.२ ओभरमा ४३ रन दिएर ३ विकेट लिए। ललित राजवंशीले २ तथा शेर मल्ल र गुल्सन झाले समान १ विकेट आफ्नो नाममा गरे।