चीनमा रोकिएका नेपाली कन्टेनर अब कोरला र हिल्सा नाका हुँदै भित्रिने

 संवाददाता    २०८३, १८ भाद्र बिहीबार १५:४०     90 जनाले पढ़िसके



Spread the love

यही भदौ १० गते भोटेकोशी नदीको बाढीले नेपाल–चीन व्यापारमा ठूलो धक्का दिएको छ। प्रमुख नाका रसुवागढी–केरुङमा दुवै देशका भौतिक पूर्वाधार बगाएको छ।

रसुवागढी पछिल्ला वर्षहरुमा नेपाल–चीन आयातनिर्यातको व्यस्त र मुख्य नाका हो। यही नाकामा भोटेकोशीले व्यापक असर गरेसँगै सरकारले समाधानका विकल्पहरु खोजिरहेको हो।

बाढीले कतिपय नेपाली नागरिक र व्यवसायीहरु चीनको केरुङमै फसेका छन्। उनीहरुलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट ल्याउन थालिसकिएको छ। ११३ जनालाई आजै तातोपानी नाका हुँदै नेपाल पठाउन लागेको ल्हासामा रहेको नेपाली महावाणिज्यदूतावासले जनाएको छ। तर मालवाहक कन्टेनरहरुलाई भने कोरला र हिल्सा नाकाबाट ल्याउने तयारी गरिएको छ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नागरिकलाई तातोपानी र रोकिएका कन्टेनरलाई कोरला र हिल्सा नाका प्रयोग गर्ने विकल्पमा समन्वय भइरहेको जानकारी दिए।

उनका अनुसार केरुङमा विभिन्न व्यवसाय, पेसा गर्दै लामो समयदेखि बसोबास गर्दै आएका नेपालीको संख्या करिब १६ सय देखि १७ सय रहेका छन्। यस्तै बाढी जानुअघि करिब करिब ३ हजार ५ सय नेपाली पर्यटक चीनतर्फ रहेका थिए। तीमध्ये अधिकांश नेपाल फर्किसकेका छन्। हाल करिब ७–८ सयको संख्यामा नेपाली पर्यटक केरुङमा रहेका छन्। कैलाश मानसरोवरको परिक्रमा गर्न सामान्यतः तीन/चार दिन लाग्ने भएकाले केही पर्यटक फर्किने क्रममा छन्।

केरुङमा रहेका नेपालीमध्ये नेपाल फर्किन चाहनेलाई प्राथमिकताका आधारमा समूह बनाएर स्वदेश पठाउने काम भइरहेको उनले जानकारी दिए।

‘केरुङमा ‘यहाँ लामो समयदेखि पेसा व्यवसाय गर्दै आइरहनुभएका सबै नेपाली नेपाल जान चाहनुहुन्न। नेपाल जान चाहनेहरूको सूची चिनियाँ प्रहरीमार्फत अपडेट गरिरहेका छौँ’, निरौलाले भने, ‘बाढीका कारण परिवारका सदस्य हराएका वा घरसम्पत्ति गुमाएका जस्ता आकस्मिक समस्या परेकालाई पहिलो चरणमा प्राथमिकताका साथ नेपाल पठाउने तयारी गरिएको छ।’

त्यसपछि नेपाल फर्किन चाहने अन्य नेपालीलाई समूह बनाएर चरणबद्ध रूपमा पठाउने गरी चिनियाँ पक्षसँग समन्वय भइरहेको उनले जानकारी दिए।

नेपाल फर्किने नेपालीलाई विशेषगरी तातोपानी नाकाबाट ल्याउने तयारी गरिएको उनले बताए।

हाल चीनले भदौ १४ गतेदेखि अस्थायी रुपमा तातोपानी नाका बन्द गरेको छ। उक्त नाकाबाट कार्गो गाडी आउन रोकिए पनि पर्यटक सवारी साधन भने रोकिएको छैन।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार केरुङमा हाल १७६ वटा मालवाहक गाडी रोकिएका छन्। ती गाडीमा फलफूल, लत्ताकपडा, जुक्ता चप्पल, कस्मेटिकलगायतका दशैँ तिहार तथा जाडोयामका लागि लक्षित सामान छन्।

‘हाल केरुङमा ७०/७१ जना सवारी चालक छन्। उक्त जनशक्तिबाट ती सबै गाडी एकै लटमा ल्याउन सकिँदैन। फलफूललगायतका तत्काल बिग्रिने सामान तातापानी नाकाबाट ल्याउन दिए सहज हुन्थ्यो। बाँकी सामान भने अन्य नाकाबाट ल्याउन सकिन्थ्यो’, कार्कीले भने।

यद्यपि नेपालतर्फको दूरी छोटो पर्ने भएकाले तातोपानीबाटै कन्टेनर पठाउन व्यवसायीहरुले माग गर्दै आइरहेका छन्। सोहीअनुसार चिनियाँ पक्षसँग कोरला नाकाबाट तातोपानी नाकामा कन्टेनर रि–रुटिङ गर्ने विषयमा समेत समन्वय गरिरहेको निरौलाले बताए। यसका लागि केरुङमा रोकिएका नेपाली मालवाहक कन्टेनरलाई नेपाल ल्याउन पनि चिनियाँ पक्षसँग अनुमति र प्राविधिक समन्वय आवश्यक पर्ने निरौला बताउँछन्।

विगत केही दिनदेखि चीनतर्फ पानी परेकाले बाढी पहिरोको जोखिम देखेर चीनले तातोपानी नाका अस्थायी रुपमा बन्द गरेको हुन सक्ने निरौला बताउँछन्।

‘तातोपानीबाट रि–रुट गर्न सकियो भने छोटो हुन्छ भन्ने हाम्रो अनुरोध छ। बाटो खुलेन भने कोरला र हिल्साबाट पठाउने गरी पनि समन्वय भइरहेको छ’, निरौलाले भने।

बाढीका कारण नेपाल र चीनतर्फको भन्सार कार्यालयका साथै सडक पूर्ण रुपमा ध्वस्त भएकाले केरुङ नाका तत्कालै पूर्ण रूपमा सञ्चालनमा आउने सम्भावना छैन। त्यसैले पनि नेपाल–चीन व्यापारका लागि तातोपानी, कोरला र हिल्सा हाल उपलब्ध नाकामध्ये रहेका छन्।

निरौलाका अनुसार कुन सामान कुन नाकाबाट पठाउँदा सहज र कम खर्चिलो हुन्छ भन्ने आधारमा कस्ट एनालाइसिस गरेर विभिन्न रुटबाट सामान नेपाल भित्र्याउन सकिने विकल्पमा समेत काम भइरहेको छ।

‘तीनवटै नाकालाई निरन्तरता दिनुपर्छ। हाम्रो तर्फबाट तयारी गर्छौँ। तातोपानीबाट कन्टेनर पठाएर काठमाडौंसम्म ल्याउने गरी पनि होमवर्क गरिरहेका छौँ’, उनले भने।

कन्टेनर रिरुट गर्न चिनियाँ पक्षको औपचारिक अनुमति आवश्यक पर्ने भएकाले त्यसका लागि प्रक्रिया अघि बढाइएको उनले बताए। नेपाली पक्षले कन्टेनर पास गरिदिन चिनियाँ अधिकारीसमक्ष औपचारिक अनुरोधसमेत गरिसकेको उनले जानकारी दिए।

‘कन्टेनर रिरुट गर्न हामीले अफिसियल रिक्वेस्ट गरिसकेका छौँ। उहाँहरूले सकेसम्म चाँडो गर्ने भन्नुभएको छ। तर ठ्याक्कै मिति भने आइसकेको छैन’, उनले भने, ‘छिटै हुन्छ भन्ने आशा गरौँ।’