बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणमा मद्दत गर्न सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ।
होल्डिङ्ससँग आबद्ध संस्थाहरू नर्भिक इन्टरनेसनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक र नेपाल डिस्टिलरिज लगायतका तर्फबाट एक/एक करोड गरी कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ प्रदान गरिएको हो।
बुधबार होल्डिङ्सका प्रबन्ध निर्देशक एवं नर्भिकका निर्देशक मेघा चौधरी तथा नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, सीईओ अजयकुमार मिश्र र नेपाल डिस्टिलरिजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
सहयोग रकम हस्तान्तरण गर्दै होल्डिङ्सका प्रबन्ध निर्देशक एवं नर्भिकका निर्देशक चौधरीले विपद्का बेला सरकारलाई सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोडभन्दा बढी रकम जम्मा गरिएको जानकारी दिए।
उनले भने, ‘यो सहयोग रकम आफैँमा धेरै ठुलो नभए पनि बाढीप्रभावित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास लिएका छौँ।’
उनले अहिलेको विषम परिस्थितिमा होल्डिङ्ससँग आबद्ध सबै संस्था सरकारलाई साथ दिन प्रतिबद्ध रहेको पनि बताए।
उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सबै संघसंस्था तथा व्यक्तिप्रति उनले सम्मान पनि व्यक्त गरे।
सो क्रममा बीएलसी ग्लोबल होल्डिङ्सले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
बीएलसी होल्डिङ्सका संस्थापक वसन्त चौधरीले गत शनिबार नै बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि ३ करोड सहयोग गर्ने घोषणा गरेका थिए।
सोही घोषणाअनुसार होल्डिङ्ससँग आबद्ध संस्थाहरूका तर्फबाट ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरिएको हो।