सरकारले सचिवको काज सरुवा गरेपछि कोशी प्रदेश सरकारका अर्थमन्त्री विदुर कुमार लिंथेप असन्तुष्ट बनेका छन् । प्रतिशोधपूर्ण तरिकाले काजमा खटाइएको उनको आरोप छ ।
रसुवा बाढीमा निधन भएकाहरूको शव व्यवस्थानका विषयमा सामाजिक सञ्जालमा ‘फोकटको सल्लाह’ भन्दै आलोचनात्मक टिप्पणी गरेका सचिव कोशहरी निरौलालाई अस्ति रसुवाको टिमुरेमै काज सरुवा गरिएको थियो । उनलाई सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई शव व्यवस्थापनकै जिम्मा दिएर काज सरुवा गरिदिएकी हुन् । निरौलालाई जिल्ला प्रशासन कार्यालय रसूवामा हाजिर गर्न भनिएको छ ।
फेसबुकमा लेखेकै कारण कारबाहीस्वरूप सरुवा गरिएको मन्त्री लिंथेपले आशंका गरेका छन् । यो सरुवा स्वाभाविक प्रक्रिया जस्तो देखिए पनि भित्री मनसाय अलि फरक रहेको उनले बताए ।
लिंथेपले भने, ‘भोटेकोशीको विपदमा सबैले सहयोग गर्नुपर्छ, यसमा दुई मत छैन । तर, नेपाल सरकारको सह-सचिव तहको एउटा अनुभवी कर्मचारीले फेसबुकमा एउटा सानो मानवीय धारणा राख्यो भन्दैमा जुन ढङ्गले हतोत्साहित गर्ने गरी पत्र काटियो, यो उपर्युक्त बाटो होइन ।’
सचिव निरौलाले सनाखत नभएका शवहरूबाट ‘डीएनए’ लिएर माटोमा पुरिएको विषयमा आलोचना गरेका थिए । कोरोना कालमा आफूले सुरक्षित तरिकाले शव व्यवस्थापन गरेको अनुभव पनि उनले सुनाएका थिए । उनको त्यही अनुभवलाई हेरेर शव व्यवस्थापनको जिम्मेवारी दिइएको मन्त्रालयको दावी छ । यसमा सचिव निरौलाले कुनै असन्तोष पोखेका छैनन् । यद्यपि उनी अहिलेसम्मै कार्यस्थल पुगेका छैनन् ।
सचिव निरौलाले प्रदेशको अत्यावश्यक काम सम्पन्न गरेर रमना हुने बताए । मन्त्रालयका केही महत्त्वपूर्ण काम बाँकी रहेकाले ती सम्पन्न गरेर एक-दुई दिन भित्रमा काज खटाइएको स्थानमा जाने उनको भनाइ छ ।
उनले भने, ‘आजै गइहाल्दा यहाँको काम अड्किने र अनियमितता पनि देखिने भएकाले अत्यावश्यक काम सम्पन्न भएपछि त्यता जान्छु ।’
निरौलाले सरकारले खटाएको ठाउँमा जान आफूलाई समस्या नभएको बताए ।