पति बेपत्ता भएको भन्दै निवेदन, अनुसन्धानमा पत्नीले प्रेमीसँग मिलेर हत्या गरेको खुलासा

 संवाददाता    २०८३, ११ भाद्र बिहीबार ११:२०     153 जनाले पढ़िसके



Spread the love

कैलालीमा प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या गरेको आरोपमा प्रहरीले महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका-४ का ३३ वर्षीय दीपक सुनारको हत्या भएको हो।

हत्या आरोपमा उनकै श्रीमतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार गत साउन २२ गतेदेखि दीपक सुनार जानकी गाउँपालिका-९, अमरावतीस्थित ससुरालीबाट हराएका थिए।

उनकी श्रीमती यमुना सुनारले नै श्रीमान् हराएको भन्दै खोजीका लागि प्रहरीमा निवेदन दिएकी थिइन्।

तर प्रारम्भिक अनुसन्धानका क्रममा यमुनाले प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या गर्ने योजना बनाएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए।

अनुसन्धानका क्रममा दीपकको हत्या गर्ने योजना बनाई अमरावती जंगलमा लगेर हत्या गरेको र शवलाई मोटरसाइकलमा राखेर कर्णाली नदीमा फालेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले मृतककी श्रीमती यमुनासहित लम्कीचुहा नगरपालिका-१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका-३ का ३२ वर्षीय राम राजेश महतो, कञ्चनपुरको बेलौरी नगरपालिका-९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी नगरपालिका-८ की ३२ वर्षीया भिमा रानालाई पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनालाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।