भृकुटीमण्डपमा नयाँ गाडीले तान्यो दर्शकको ध्यान

 संवाददाता    २०८३, ९ भाद्र मंगलवार १२:२२     15 जनाले पढ़िसके



Spread the love

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ।उपराष्ट्रपति रामशहायप्रसाद यादवले मङ्गलवार अटो शोको उद्घाटन गरे ।

अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म दर्शनीमा राखिएका छन्।

हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायतका विश्वस्तरीय ब्रान्डका साथै रोयल इन्फिल्ड, यामाहा र होन्डालगायत दर्जनौँ ब्रान्डका विभिन्न उत्पादन प्रदर्शनीमा छन्।

यसपटकको नाडा अटो शोमा नेपालमै बनेको सिप्रदी–यात्री नेपालको उत्पादन ‘यात्री पी–२’ समेत प्रदर्शनमा राखिएको छ। अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिजका कम्पनीहरूको समेत उल्लेख्य सहभागिता छ।

प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहेका छन्। त्यस्तै, १० वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहेको नाडाले जनाएको छ।

आजदेखि सुरु भएको अटो शो १४ भदौसम्म ६ दिन सञ्चालन हुनेछ । अटो शो अवधिमा अटोमोबाइलसम्बन्धी नीतिगत बहस, लगानी, अटो बीमा, सडक पूर्वाधार, सरकारी नीति, नयाँ सवारीसाधनको बढ्दो आगमन र रोजगारीका विषयमा विशेष छलफल कार्यक्रमसमेत हुने नाडाले जनाएको छ ।