गरिमा हत्या अनुसन्धानमा नयाँ मोड, १४ वर्षीय प्रदीप खड्का पक्राउ

 संवाददाता    २०८३, ८ भाद्र सोमबार १५:४२     15 जनाले पढ़िसके



Spread the love

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दुसधराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ । मुख्य आरोपी मानिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

योसँगै घटनामा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२ बस्ने कक्षा ९ मा अध्ययनरत १४ वर्षीय खड्कालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

सुमन थापाको भाइरल भिडिओमा प्रदीपलाई उनले पोलेका थिए । प्रदीपकै योजना र अगूवाईमा बालिकामाथि अपराध गरेको उनको दाबी छ । घटनापछि प्रदीप त्यहाँबाट भागेको उनले बताएका छन् । सुमनको सोधपुछको भिडिओ सामाजिक सञ्जालमा आएपछि मात्र प्रहरीले प्रदीपलाई समातेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

गरिमाको शव भेटिएपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा प्राप्त सूचना र प्रमाणका आधारमा प्रहरीले थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । गरिमाको परिवारले दिएको पूरक जाहेरीपछि शनिबार प्रहरीले थप पाँच जनालाई पक्राउ गर्‍यो ।

प्रहरीले पक्राउ परेका अन्य व्यक्तिहरूको पहिचान भने हालसम्म सार्वजनिक गरेको छैन । घटनामा बालिकामाथि सामूहिक बलात्कार भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, त्यसबारे अनुसन्धान पूरा नभएसम्म यकिन निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ ।

घटनामा पक्राउ परेकाहरूको बयान, भौतिक प्रमाण तथा अन्य प्राविधिक पक्षबाट सामूहिक बलात्कार भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।