चोरी गरेको सुन फिर्ता गर्न जाँदा पूर्वगभर्नर अधिकारीको घरबाट पक्राउ

 संवाददाता    २०८३, ८ भाद्र सोमबार १५:२५     74 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीको भैँसेपाटीस्थित घरमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि त्यही भीडमा छिरेर सुनका गरगहना लुटेका एक व्यक्ति चोरीको सामान फिर्ता गर्न फेरि अधिकारीकै घर पुग्दा प्रहरी फन्दामा परेका छन्।

रौतहटका ३१ वर्षीय विजय राम भन्ने विजय महरा चमारले जेनजी आन्दोलनका क्रममा अधिकारीको घरबाट सुनचाँदीका गरगहना चोरी गरेका थिए। उनको साथ र डेराबाट बरामद भएका गरगहनाको मूल्य १० लाख २० हजार ९०७ रुपैयाँ छ।

आरोपित महरा भैँसेपाटीमा जुत्ता बनाउने पसल चलाउँथे। आन्दोलनका क्रममा पसल बन्द गरेर फर्किने क्रममा अधिकारीको घरमा ठूलो भीड देखेपछि उनी त्यहाँ पुगे। पूर्वगभर्नर अधिकारीको घरको मुख्य गेट फुटिसकेको थियो भने भित्र आगलागी भइरहेको थियो। करिब ६०–७० जना मानिस घरभित्र जाने–निस्कने गरिरहेका थिए।

केहीबेर बाहिर बसेर हेरेपछि अरू मानिसहरू घरभित्र पसेर सामान उठाउँदै गरेको देखेपछि उनी पनि घरभित्र छिरे। त्यहाँ सामान छरपस्ट अवस्थामा रहेको र मानिसहरूले विभिन्न सामान लैजाँदै गरेको देखेपछि आफूलाई पनि लोभ लागेको उनले बयान दिएका छन्। त्यसपछि भुइँमा छरिएका सुनचाँदीका गरगहना टिपेर पाइन्टको खल्तीमा राखी डेरामा लगेर लुकाएका थिए।

‘सुन राखिरहँदा डर लाग्यो, झुम्का बोकेर घर पुगेँ’
पूर्वगभर्नर अधिकारीको घरबाट चोरी गरेको सुन लामो समय आफूसँग राखिरहँदा पक्राउ पर्ने डरमा अभियुक्त थिए। त्यसपछि उनले चोरी गरेको एक जोर सुनको झुम्का लिएर अधिकारीकै घरमा पुगेर फिर्ता गर्न खोजे।

२०८३ साउन २० गते दिउँसो करिब १२ बजे उनी झुम्का लिएर अधिकारीको घर पुगेका थिए। अधिकारीले उनलाई झुम्कासहित फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खानतलासी गर्दा उनको साथबाट एक जोर सुनको जस्तो देखिने झुम्का बरामद गरेको थियो।

त्यसपछि प्रहरीले उनको नख्खुस्थित डेरामा खानतलासी गर्दा थप चोरीका गरगहना फेला पारेको थियो।

महराको डेराबाट चाँदीको जस्तो देखिने पाउजु, गणेशको मूर्ति, सिक्का, औँठी तथा अन्य सामग्रीसँगै सुनका दुईवटा औँठी, एक मुन्द्रा र सातवटा झुम्का बरामद गरेको छ।

ललितपुर सुनचाँदी व्यवसायी संघले प्रहरीबाट बरामद भएका यी सुन तथा चाँदीका गरगहनाको कुल बजार मूल्य १० लाख २० हजार ९०७ रुपैयाँ कायम गरेको छ।

पूर्वगभर्नर अधिकारीको सैबु भैँसेपाटीस्थित साढे दुई तले घरमा जेनजी आन्दोलनका क्रममा अपरिचित समूह प्रवेश गरेको थियो। घरको मुख्य गेटदेखि भित्रका विभिन्न कोठासम्म तोडफोड र आगजनी भएको थियो।

घटनास्थल मुचुल्कामा घरका झ्यालका सिसा फुटाइएको, टेलिभिजन, सोकेस, फ्रिज, ओभन, फर्निचरलगायत सामान तोडफोड गरिएको र विभिन्न सामानमा आगजनी भएको उल्लेख छ। घरमा राखिएका दुईवटा निजी सवारीसाधनसमेत तोडफोड गरिएको थियो।

दोस्रो तलाको मास्टर बेडरुममा रहेको दराज तोडफोड गरी त्यहाँ राखिएका सुनका विभिन्न गरगहना, चाँदीका सिक्का तथा नगद चोरी भएको थियो। अधिकारीकी छोरी डा. महिमा अधिकारीको सक्कल प्रमाणपत्रसमेत लुटिएको थियो। पूर्वगभर्नर अधिकारीले प्रहरीमा दिएको जाहेरीमा घर तथा धनमालमा भएको क्षतिको कुल बिगो १ करोड ५० लाख रुपैयाँ रहेको दाबी गरेका छन्।

अनुसन्धानका क्रममा अभियुक्त महराले आफूले अधिकारीको घरमा आगो नलगाएको र तोडफोडसमेत नगरेको दाबी गरेका छन्। आफू घरमा पुग्दा नै गेट फुटिसकेको, आगलागी भइरहेको र ठूलो संख्यामा मानिसहरू जम्मा भएको उनको बयान छ। अरूले घरभित्रबाट सामान निकालिरहेको देखेपछि आफू पनि भित्र पसेर गरगहना मात्रै लिएर आएको उनले बताएका छन्।

पूर्वगभर्नर अधिकारीको जाहेरीमा घर तथा धनमालमा भएको कुल क्षति १ करोड ५० लाख रुपैयाँ रहेको दाबी गरिएको छ। तर, महराबाट बरामद चोरीका सामानको मूल्य १० लाख २० हजार ९०७ रुपैयाँ मात्रै कायम भएको छ।

सरकारी वकिल कार्यालयले महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४१ अन्तर्गत चोरीको कसुरमा अभियोग दायर गरेको छ। उनलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको सजाय माग गरिएको छ। बरामद भएका गरगहना पूर्वगभर्नर अधिकारीले फिर्ता लगिसकेका छन्। त्यसैले ती सामानको हकमा थप क्षतिपूर्तिको मागदाबी भने गरिएको छैन।