घुमफिरका लागि मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै रोकिएका छन् ।
नियन्त्रणमा लिइएका वायुसेवा निगमका कर्मचारीमा काठमाडौं महानगर २४, गोङ्बुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका- ३ की ३५ वर्षीया ममता पाण्डे हुन् । उनीहरू क्याबिन क्रू (एयर होस्टेस) हुन् । बज्राचार्यबाट अमेरिकी डलर ४३०० र पाण्डेबाट ४२०० बरामद भएको छ ।
आइतबार राति नेपाल एयरलाइन्सको उडानबाट क्वालालम्पुर प्रस्थान गर्नै लागेका उनीहरूले प्रतिव्यक्ति अनुमतिप्राप्त डलरभन्दा बढी रकम बोकेको देखिएपछि नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसपी राजकुमार सिलवालले बताए ।
थप अनुसन्धानका लागि उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको सिलवालले बताए ।