मोरङ कारागारका कैदीबन्दीको उग्र प्रदर्शन, छतमै बालियो टायर

 संवाददाता    २०८३, १ भाद्र सोमबार ११:२८     41 जनाले पढ़िसके



Spread the love

विराटनगरस्थित जिल्ला कारागारका कैदीबन्दीले नाराबाजीसहित प्रदर्शन गरेका छन्।

जिल्ला कारागार मोरङको ‘बी ब्लक’ मा सोमबार बिहान कैदीबन्दीहरूले नाराबाजी र प्रदर्शनसहित कारागारभित्र हुँदै आएको आर्थिक तथा मानसिक शोषण बन्द हुनुपर्ने लगायतका माग राख्दै उनीहरू कारागारको पूर्वी भागको छतमा चढेर प्रदर्शनमा उत्रिएका छन्।

​आन्दोलनका क्रममा कैदीबन्दीले छतमा लगेर टायर बाल्नुका साथै केही तोडफोडसमेत गरेको प्रहरीले जनाएको छ। मुढा बनाउन कारागारभित्रै राखिएका टायर प्रयोग गरेर उनीहरूले आगजनीको प्रयास गरेपछि आगो निभाउन दमकल प्रयोग गरिएको छ।

​कारागारभित्र लागूऔषध लगायतका अवैध वस्तु लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार बिहानैदेखि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी खानतलासी सुरु गरिएको थियो।

​जिल्ला प्रहरी प्रमुख एसपी कटुवालले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बेला–बेलामा गरिने नियमित सर्च अप्रेशनकै क्रममा उनीहरू आन्दोलित भएका बताए।

खानतलासीका क्रममा गम्भीर प्रकृतिका अवैध वस्तु फेला नपरे पनि प्रशासनले केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो।

तर, कैदीबन्दीको तीव्र अवरोध, आन्दोलन र स्थिति जटिल बन्ने जोखिमका कारण स्थानान्तरण प्रक्रिया तत्कालका लागि स्थगित गरिएको प्रहरीले जनाएको छ।

खानतलासी सकेर टोली फर्किएपछि हाल कारागार क्षेत्रको अवस्था सामान्य भइसकेको डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कारागार परिसरमा उच्च सुरक्षा सतर्कता अपनाएको छ।