जनआस्थाका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेसी तोकिएको छ।
पत्रकार श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन्।
जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई बिहीबारनै काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको हो। उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले हिरासतमा राखेको हो।
यसैबिच पत्रकार श्रेष्ठको घरका प्रहरीले पुन: खानतलासी गरेको छ।
उनकी श्रीमती सरस्वती श्रेष्ठले दिएको जानकारीअनुसार प्रहरीको टोली बिहीबार घरमा आएको हो।
‘हाम्रो घरमा खानतलासी गरेर प्रहरीले आधा घण्टाअघि सीसी क्यामराको डिभाइस स्टोरेजहरू लगेको छ’, उनले भनिन्।
बुधबार बेलुका श्रेष्ठलाई पक्राउ गर्दा पनि प्रहरीले उनको घर र जनआस्थाको कार्यालय खानतलासी गरेर कम्प्युटरलगायत महत्त्वपूर्ण उपकरण लगेको थियो।